देश/प्रदेश

वीरगञ्जमा रगतको चरम अभाव, वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशनको अगुवाईमा रक्तदान कार्यक्रम

Banner

वीरगञ्ज, साउन २९–

पर्साको वीरगञ्ज शहर अहिले अस्तव्यस्त छ । सडक चौडा बनाउन सडक छेउका घरहरु भत्काईएपछि वीरगञ्जको स्वरुप नै कुरुप बनेको छ । यहीँ ठाउँमा विगतमा धेरै रक्तदान कार्यक्रम हुन्थे । अहिले यो शहरमा रक्तदानको कार्यक्रम देख्नै मुश्किल छ । यहीँ कारण अहिले वीरगञ्जमा चरम रगतको अभाव सिर्जना भएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र वीरगञ्जमा रगत माग गर्न जाने दिनहुँ बढ्दो छ । तर रक्तसंचार केन्द्रमा रगत छैन । ‘दिनहुँ रगत खोज्दै आउनेको भिड छ, तर हामीसंग दिने रगत छैन’ रक्तसंचार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे भन्छन्–‘अहिले रक्तदान कार्यक्रम नै नहुँदा झनै रगत अभाव भएको छ ।’

प्रमुख पाण्डेका अनुसार अहिले पर्सा जिल्लामा दैनिकजसो एक सयदेखि डेढ सय पिन्टसम्म रगतको माग छ । तर त्यो माग अनुसार रगत व्यवस्थापन गर्न सकिएको छैन । अहिले वीरगञ्ज बजार अस्तव्यस्त, गर्मीलगायतका कारणले रक्तदान कार्यक्रम नहुँदा धेरै समस्या भएको रक्तसंचार केन्द्रका प्रमुख पाण्डे बताउँछन् । उनले वीरगञ्जबासीलाई स्वतस्फूर्त रुपमा रक्तदान गर्न आग्रह गरे ।

यहीँ रगतको अभाव देखिएपछि भर्खरै स्थापना भएको ‘वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन’ वीरगञ्ज शाखाले रक्तसंचार केन्द्रमै रक्तदान कार्यक्रम आयोजना गर्‍यो । ‘वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन’ वीरगञ्ज शाखाका संयोजक सन्दीप विक्रम साहले चरम रगत अभाव भएपछि रक्तदानलाई प्रोत्साहन गर्दै रक्तदान कार्यक्रम गरिएको बताए । यो रक्तदान कार्यक्रममा चितवनका रक्त अभियन्ताहरुको पनि विशेष उपस्थ्तिि थियो । रक्त अभियन्ता एवंम वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपाने, रक्तअभियन्ता विपिन पाठकलगायतको उपस्थितिले रक्तदान गर्नमा प्रेरणा जगाएको थियो । कार्यक्रममा अभियन्ता पाठक, त्रिलोक पन्त, राजकुमार कुशवाहा, श्वेता राईसहित १९ जनाले रक्तदान गरेका थिए ।

वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेले पर्सामा रगत अभाव कम गर्न अझै जनचेतना जगाउन आवश्यक रहेको भन्दै नियमित रक्तदान कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले रगत अभाव देखेरै रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको भन्दै वीरगञ्ज शाखालाई धन्यवाद दिए । न्यौपानेले केहीदिन अघि वीरगञ्ज रक्तसंचार केन्द्रमै ६०औं पटक रक्तदान गरेका थिए ।

रक्त अभियन्ता विपिन पाठकले आफूले २७औँ पटक रक्तदान पर्साको वीरगञ्जमा गर्न पाएकोमा खुशी व्यक्त गरे । काम विशेषले वीरगन्ज आएका बेला रगत अभावको समाचार सुनेपछि साथीहरूसँग मिलेर तत्काल रक्तदानको व्यवस्था गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>