देश/प्रदेश

तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

Banner

भद्रपुर (झापा), साउन २८-

कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहनुभएको छ ।

यसअघि यही साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।

तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत सङ्कलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगत सङ्कलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुमवासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण सङ्कलन गरिएको छ ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी रहेका लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभयो ।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभरि जग्गाधनी पुर्जा वितरणका लागि लगत सङ्कलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो ।

समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिना जिल्लाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि पुर्जा वितरण सुरु भएको छ ।

बुद्धशान्तिमा आगामी हप्ता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>