प्रवास

बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरः करिब तीन हजार जना लाभान्वित

Banner

काठमाडौँ, साउन २६ –

बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर आयोजना गरेको थियो । शिविरमा दुई हजार ८९४ निःशुल्क आँखा परीक्षण तथा १५६ जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो रफिकलगायतका १३ सदस्यीय टोलीले शिविरमा सेवा पु¥याएको थियो । सन् २०२३ देखि सञ्चालन हुँदै आएको सो कार्यक्रममार्फत बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन् ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले नेपालमा उपलब्ध अन्तरराष्ट्रियस्तरको आँखा उपचार सेवाबाट बङ्गाली नागरिकलाई लाभान्वित गराउन निःशुल्क आँखा शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शिविरले ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनका साथै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गरेको छ ।”

कार्यक्रममा बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप बलियो बनाएको उल्लेख गर्नुभयो । शिविरको शुभारम्भ बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गर्नुभएको ।

सङ्घका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ भन्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि नेपाल र बङ्गलादेशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गर्नुभयो ।

बङ्गलादेशको भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिले शिविर सञ्चालन गर्न सहयोग गरेका जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत नेपालभर गुणस्तरीय तथा सुलभ आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ ।

निःशुल्क स्वास्थ्य शिविर स् विदेशमा बढ्दो माग

सङ्घले नेपालका साथै भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया, इथियोपियालगायत विभिन्न देशमा पनि प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, निःशुल्क आँखा शिविर र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

सङ्घका अनुसार पछिल्ला वर्षहरूमा बङ्गलादेशबाट गुणस्तरीय तथा सस्तो नेत्र उपचारका लागि नेपालका आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्याया निरन्तर बढिरहेको छ । ठाकुरगाँवमा सञ्चालित सो शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वासलाई थप सदृढ बनाउनुका साथै बङ्गलादेशबाट नेपालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि भई आँखा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको जनाइएको छ ।

सङ्घका अनुसार नेपाल र बङ्गलादेशबीच स्वास्थ्य क्षेत्रमा बढ्दो सहकार्यले सीमापार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै नेपालको नेत्र उपचार सेवा र ‘स्वास्थ्य पर्यटन’ प्रवरर््नमा समेत सकारात्मक योगदान पु¥याएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>