देश/प्रदेश
गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव र्यालीपछि बजार सञ्चालन हुने

राहुल राय,
सिरहा, साउन २६
सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा केही व्यवसायीले पसल बन्द राख्दै आएका थिए ।
सोही विषयमा सांसद यादवले सोमबार गोलबजार नगरपालिका–११ बल्कावामा व्यवसायी तथा स्थानीयसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रदर्शनका क्रममा व्यावसायिक, सामुदायिक तथा व्यक्तिगत संरचनामा भएको क्षतिको विषय संसद् र सरकारसमक्ष उठाउने तथा पीडित व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता सांसद यादवले जनाएका छन् ।
छलफलपछि मंगलबार बिहान ८ बजे गोलबजारमा सद्भाव र्याली निकाल्ने र त्यसपछि बिहान १० बजेदेखि बजार तथा पसलहरू नियमित रूपमा सञ्चालन गर्ने सहमति भएको सांसद यादवले जानकारी दिए ।
सुनसरी घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा करिब चार दर्जन संरचनामा तोडफोड तथा आगजनी भएको बताइएको छ ।
घटनाका क्रममा सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका–२ तुलसीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका–८ धारापानी कुम्हराका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका छन् ।

























