देश/प्रदेश

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको गोङ्गी मन्दिर

Banner

नेपालगञ्ज, साउन २५-

बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

सडकको पूर्वाधारको विकास तथा पूजाआजा र भजनकीर्तन नभएका कारण त्यस मन्दिर ओझेलमा परेको जनाउँदै त्यसका लागि आवश्यक पहल गर्न प्रदेश सरकार र गाउँपालिकासँग स्थानीयले माग गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष राजकुमार बर्माले बागेश्वरीको शक्तिपीठका रुपमा मन्दिर निर्माण गरिएको जानकारी दिँदै त्यहाँ गएर मुण्डन गर्दा लाभ मिल्ने धार्मिक विश्वास रहेको बताउनुभयो । नवरात्रमा त्यस दर्शनार्थीको घुइँचो लाग्ने तथा छोराछोरीको कपाल मुण्डन पनि मन्दिरमा हुने गरेको पाइएको छ ।

कतिपय बिरामी भारतका विभिन्न सरहमा उपचार गरेर निको नभएमा त्यस मन्दिरमा आएर दर्शन गरे निको हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको अध्यक्ष बर्माको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल बागेश्वरी शक्तिपीठको भगिनी गोंगी माता रहेको औँल्याउँदै अस्पताल धाएर पनि बिरामी निको नभएपछि त्यहाँ पूजाआजा र दर्शन गरे लाभ मिल्ने धार्मिक विश्वास रहेको बताउनुहुन्छ ।

उहाँले स्थानीय सरकारलगायत सरोकार भएका निकायलाई मन्दिरको प्रचारप्रसार र संरक्षणमा चासो दिन आग्रह गर्दै सडक पूर्वाधारको विकासमा जोड दिनुभयो । अध्यक्ष सिग्देलले भन्नुभयो, “यस क्षेत्रको विकासले धार्मिक सर्किटका रुपमा पर्यटन प्रवद्र्धनमा टेवा दिन सक्छ ।”

नेपालगन्जका प्रकाश कुँवरले बोली नफुरेका बालबालिकालाई त्यो मन्दिरमा पूजाआजा गरेपछि बोल्ने गरेको हुँदा त्यहाँको महत्व विशिष्ट प्रकृतिको भएको प्रतिक्रिया दिनुहुन्छ । “यहाँ पुराना फलफूलका बिरुवा छन्, जसले इतिहास बोलिरहेका छन्”, गोङ्गी माताको महिमाबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “बर्मा समुदायले त्यस मन्दिरको व्यवस्थापन गर्दै आएका छन् ।”

नेपालगञ्जको कारकाँदो चोकबाट पश्चिम उत्तरमा झन्डै ६ किलोमिटरको दूरीमा रहेको उक्त मन्दिरमा खास गरी नवरात्रका समयमा गोङ्गी देवीको दर्शन र पूजाआजाका लागि तीर्थयात्री बढी सङ्ख्यामा पुग्ने गरेको पाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>