देश/प्रदेश

बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चित, नाटककार भुसाललाई सम्मान

Banner

काठमाडौँ, साउन २४-

बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।

विद्यालयको नेपाली विभागको आयोजनामा साउन १९ गतेदेखि चार दिनसम्म मञ्चन गरिएको नाटकको समापन अवसरमा लेखक तथा मुख्य निर्देशक प्रेमनारायण भुसाललाई शिक्षा, मनोविज्ञान, साहित्य तथा रङ्गमञ्चका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ ।

विद्यालयका तर्फबाट भुसाललाई अभिनन्दनपत्र हस्तान्तरण गर्दै सम्मान गरिएको हो । शिक्षा र मनोविज्ञानका क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका भुसालको साहित्यिक तथा शैक्षिक योगदानको समेत कार्यक्रममा प्रशंसा गरिएको थियो ।

भुसालद्वारा लिखित ‘फलामे गेट’मा बाल्यावस्थाका निष्कलुष खेल र बालसुलभ आत्मीयताबाट सुरु भएर समाजमा विद्यमान वर्गीय विभाजन, आर्थिक असमानता, पुँजीवादी मानसिकता, पारिवारिक सम्बन्ध तथा मानिसभित्रका मनोसामाजिक द्वन्द्वसम्मको यात्रा प्रस्तुत गरिएको छ । समयसँगै मानिसको चेतना, सम्बन्ध र मूल्यबोध कसरी परिवर्तन हुँदै जान्छ भन्ने प्रश्न नाटकले उठाएको छ ।

नाटकको प्रारम्भिक दृश्यमा बालबालिकाको विभेदरहित खेल, आत्मीयता र साझा सपना देखाइएको छ । सँगै हुर्किएका आयुष र महेश वयस्क भएपछि भने समाजका दुई विपरीत किनारमा उभिन पुग्छन् ।

आयुष धन, शक्ति र भौतिक सम्पन्नतालाई सफलताको आधार मान्छ । महँगा वस्तु, गाडी र सम्पत्तिको प्रदर्शनमार्फत आफूलाई अरूभन्दा उत्कृष्ट प्रमाणित गर्न खोज्ने आयुष उपभोक्तावादी समाजले निर्माण गरेको बाह्य रूपमा सफल तर भित्री रूपमा असुरक्षित र एक्लो पात्रका रूपमा प्रस्तुत भएको छ ।

अर्कोतर्फ महेश श्रम, बौद्धिकता, नैतिकता र सामाजिक उत्तरदायित्वको प्रतिनिधि पात्रका रूपमा देखिन्छ । उसका लागि मानिसको मूल्य धनसम्पत्तिले नभई चेतना, चरित्र र मानवीय संवेदनाले निर्धारण गर्छ । आयुष र महेशबीचको यही वैचारिक तथा सामाजिक दूरी नाटकको मुख्य द्वन्द्व बनेको छ ।

नाटकमा ‘फलामे गेट’लाई केवल भौतिक संरचनाका रूपमा प्रस्तुत गरिएको छैन । बाल्यकालमा खेलको सीमा छुट्याउने गेट समयक्रममा मानिस–मानिसबीच निर्माण हुने वर्गीय दूरी, पूर्वाग्रह, अहङ्कार र मानसिक पर्खालको प्रतीक बनेको छ ।

गेटभित्रको सम्पन्न संसार र त्यसबाहिरको सामाजिक यथार्थबीचको दूरीमार्फत आर्थिक असमानता तथा सामाजिक विभेदलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ ।

नाटकको अर्को महत्वपूर्ण पक्ष यसको प्रयोगधर्मी मञ्च संरचना हो । कथाको चरमोत्कर्षमा दर्शकदीर्घाबाट प्रबुद्ध आवाजहरू मञ्चमा हस्तक्षेप गर्छन् । यसले दर्शकलाई केवल घटनाको साक्षीमा सीमित नराखी नाटकको वैचारिक यात्राका सक्रिय सहभागी बनाउँछ । दर्शकको हस्तक्षेपसँगै आयुष आत्मसमीक्षातर्फ उन्मुख हुन्छ र बाल्यकालको निष्कलुष संसारको स्मृतिमा फर्किन्छ ।

नाटकले भौतिक सम्पन्नताले मात्र बालबालिकालाई सुख, सुरक्षा र सन्तुष्टि दिन नसक्ने सन्देश दिएको छ । महँगा वस्तु र सुविधा उपलब्ध गराउनु मात्र अभिभावकीय दायित्व नभई बालबालिकालाई समय, प्रेम, असल संस्कार, शिक्षा, नैतिकता, आत्मीयता र मानवीय संवेदना दिनुपर्ने विषयलाई नाटकले प्राथमिकताका साथ उठाएको छ ।

नाटक भुसालको लेखन तथा मुख्य निर्देशनमा तयार भएको हो भने विद्यालयको नेपाली विभागले सहनिर्देशन गरेको थियो । नाटकमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कलाकार, सहायक कलाकार तथा कोरसको सहभागिता रहेको थियो ।

चार दिनसम्म निरन्तर मञ्चन गरिएको नाटकको पहिलो दुई दिन विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि प्रदर्शन गरिएको थियो । तेस्रो दिन उपत्यकाका १४ विद्यालयका करिब ४५० विद्यार्थी तथा शिक्षक–शिक्षिकाले नाटक अवलोकन गरेका थिए ।

अन्तिम दिन विद्यालयका अभिभावक, साहित्य अनुरागी तथा अन्य आमन्त्रित दर्शकका लागि नाटक प्रदर्शन गरिएको थियो ।

नाटक अवलोकन गरेका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा साहित्य अनुरागीले ‘फलामे गेट’लाई समसामयिक, सान्दर्भिक र भावनात्मक नाटकका रूपमा प्रतिक्रिया दिएका थिए ।

कतिपय दर्शकले नाटक हेर्दाहेर्दै आफू भावुक भएको र आँसु आएको बताएका थिए । बालमनोविज्ञान, अभिभावकीय भूमिका, आर्थिक असमानता र सामाजिक सम्बन्धका जटिलतालाई नाटकले संवेदनशील ढङ्गले प्रस्तुत गरेको उनीहरूको भनाइ थियो ।

तेस्रो दिन नाटक अवलोकन गर्न आएका उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकले विषयवस्तु र प्रस्तुति निकै राम्रो, समसामयिक तथा सान्दर्भिक रहेको बताएका थिए । विद्यालयमा हुने यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै जीवनका वास्तविक पक्ष बुझ्न सहयोग गर्ने उनीहरूको भनाइ थियो ।

विद्यालयका अनुसार ‘फलामे गेट’ विद्यालयीय नाटक भए पनि यसको विषयवस्तु, मञ्च संरचना, अभिनय र प्रयोगधर्मिताले व्यापक दर्शकलाई आकर्षित गरेको थियो । नाटकले मनोरञ्जनसँगै बालबालिकाको मनोविज्ञान, अभिभावकीय जिम्मेवारी, सामाजिक असमानता र मानवीय सम्बन्धबारे दर्शकलाई सोच्न बाध्य बनाएको थियो ।

भुसालका कथा, कविता र निबन्ध विद्यालय तहका विभिन्न कक्षामा पठनपाठन हुँदै आएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘समकालीन कथामा मनोविज्ञान’ उनका महत्वपूर्ण कृतिमध्ये एक हो ।

बालबालिकासँग कस्तो व्यवहार गर्ने तथा उनीहरूको मनोवैज्ञानिक विकासमा अभिभावक र शिक्षकको भूमिका कस्तो हुनुपर्छ भन्ने विषय समेटिएका पुस्तक तथा लेखनमा समेत उनी सक्रिय छन् । पाठ्यपुस्तक लेखनमा समेत संलग्न भुसालका विभिन्न सिर्जनात्मक तथा शैक्षिक लेखनले विद्यालय तहको पठनपाठनमा स्थान पाउँदै आएका छन् ।

शिक्षा, साहित्य र मनोविज्ञानलाई सिर्जनात्मक रूपमा जोड्दै अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय भुसालले रङ्गमञ्चमार्फत सामाजिक सरोकारका विषयलाई समेत प्रस्तुत गर्दै आएका छन् । बालमनोविज्ञान, अभिभावकीय भूमिका र सामाजिक सम्बन्धका विषयमा उनको निरन्तर अध्ययन तथा लेखनलाई ‘फलामे गेट’ले रङ्गमञ्चीय रूप दिएको छ ।

समापन कार्यक्रममा सम्मानित भुसालले विद्यालयीय रङ्गमञ्च मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको सिर्जनात्मकता, संवेदना र सामाजिक चेतना विकास गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए।

सामाजिक सरोकारका विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दा विद्यार्थीले समाज र आफ्नै जीवनका विभिन्न पक्षलाई फरक दृष्टिले बुझ्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा ‘फलामे गेट’लाई विद्यालयमा मात्र सीमित नराखी देशका विभिन्न भूभाग तथा विभिन्न वर्ग र समुदायका दर्शकमाझ पुर्याउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

नाटकलाई देशका विभिन्न स्थानमा प्रदर्शन गर्न सके बालबालिकालाई धनसम्पत्तिभन्दा असल संस्कार, शिक्षा, आचरण, प्रेम र मानवीय सम्बन्धको महत्त्व बुझाउने सन्देश व्यापक बनाउन सकिने आयोजकको विश्वास छ ।

शिक्षा, मनोविज्ञान, साहित्य र रङ्गमञ्चका क्षेत्रमा निरन्तर सक्रिय भुसालको सम्मानले सिर्जनशील लेखन तथा अनुसन्धानलाई संस्थागत रूपमा प्रोत्साहन गरेको सहभागीले बताएका थिए ।

विद्यालयले ‘फलामे गेट’को सफल मञ्चनसँगै स्रष्टा सम्मानको परम्परालाई जोडेर शिक्षा र साहित्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>