देश/प्रदेश
श्रमदानबाट सडक सुरक्षित बनाउन जुटे स्थानीय

भद्रपुर (झापा), साउन १७ –
झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्म सडक किनारमा फैलिएको झाडीका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय युवा आफैँ श्रमदान गर्न जुटेका छन् । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि व्यवस्थापन नभएपछि उनीहरूले सडक किनारका झाडी र बुट्यान हटाएर शनिबारबाट सडकलाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेका हुन् ।
राजगढदेखि घोडामारा बजारसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा स्थानीय बासिन्दा, व्यापारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो । अभियानअन्तर्गत सडक किनारमा फैलिएका झाडी, बुट्यान र अनावश्यक घाँस हटाएर सडकलाई सफा र व्यवस्थित बनाइएको छ ।
अभियानमा सहभागी युवाहरूका अनुसार सडक किनारमा बढेका झाडीका कारण मोड तथा साँघुरा स्थानमा सवारीसाधन देख्न कठिन हुने, जसले दुर्घटनाको जोखिम बढाएको थियो । श्रमदानपछि सडकको दृश्यता बढेको र सवारी चालक तथा यात्रीलाई आवागमनमा सहज भएको छ ।
अभियानमा सहभागी एक स्थानीय युवा विवेक राजवंशीले भन्नुभयो, “सुरक्षित सडकका लागि सरकारी निकायको मात्र प्रतीक्षा गर्नु हुँदैन । समुदाय आफैँ अग्रसर हुँदा स्थानीय समस्या छिट्टै समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन हामी श्रमदानमा जुटेका हौँ ।”रासस



























