देश/प्रदेश
लोकसंस्कृतिको प्रवर्द्धनमा सक्रिय ‘रामप्रसाद’

महेन्द्रनगर (कञ्चनपुर), साउन १७ –
लोकसंस्कृतिको प्रवर्द्धनमा अग्रणी भूमिका निभाउँदै आउनुभएका गायक रामप्रसाद अवस्थी पछिल्लो समय राजधानीमा सुदूरपश्चिमको कला, संस्कृति र देउडालाई पछिल्लो पुस्तासित घुलमिल गराउन सक्रिय हुनुहुन्छ । गीत रचना, गायन र सङ्गीत गरी तीनवटै विधामा आफूलाई पोख्त बनाउनुभएका अवस्थीले गीतसङ्गीतलाई २०५७ सालदेखि निरन्तरता दिँदै आउनुभएको छ ।
पछिल्ला केही वर्ष सांस्कृति समाज नेपालको अध्यक्ष भएर नेतृत्वदायी भूमिकामा रहँदा अवस्थीले सुदूर र कर्णालीको लोकसंस्कृतिसँगै श्रष्टा सम्मान लोभाग्दो रूपमा अघि बढाउनुभएको थियो । उहाँले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ ।
“सुदूर र कर्णालीको ऐतिहासिक लोकसंस्कृतिलाई सवत्र्र परिचित गराउँदै यसको गरिमा अझ बढाउन र जीवन्त राख्नुपर्छ भनेर अभियानकै रूपमा अघि बढाउन अग्रसर छु”, अवस्थीले भन्नुभयो, “मेला\महोत्सवका क्रममा पश्चिमदेखि पूर्वसम्मका लोकसंस्कृतिसम्बन्धी अध्ययन गर्ने अवसर पनि पाएँ ।”
विसं २०५७ मा पहिलो एल्बम ‘रानी चणि’ बजारमा ल्याउनुभएका अवस्थीले २०५९ सालमा ‘मेरी इजा’ तथा २०६१ सालमा ‘रातो सलाम’ दर्शक–स्रोतामाझ ल्याउनुभयो । उहाँले २०६८ सालमा ‘सुदूरपश्चिम कलेजीमा’, २०७० सालमा ‘सुनै फल्ने देश’, २०७२ सालमा ‘सुदूरकी मूल्याई’, २०७२ सालमा ‘छमछम पाउजु’, २०७३ सालमा ‘ढल्क्यो लाली जोबन’, २०७४ सालमा सीमासम्बन्धी राष्ट्रिय गीत ‘अत्ति भयो’, २०७५ सालमा ‘कालो बादल’ ‘जोई नभई नहुन्या’लगायत हालसम्म दर्जनौँ गीत, सङ्गीत र स्वर दिएर बजारमा पस्किसक्नुभएको छ ।
विसं २०४२ मा बैतडीको विकट गाउँ काडासैनीमा मध्यम वर्गीय परिवारमा जन्मिनुभएका अवस्थी बाल्यकालदेखि निकै लोक तथा डेउडा गीतसङ्गीतमा रुचि राख्ने गर्नुुहुन्थ्यो । “त्यो बेला ब्राह्मणको छोरो भएर पनि गीत गाउँछन् भन्ने सङ्कुचित दायरा नाघेर लोकसंस्कृतिका क्षेत्रमा होमिएको हुँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय लोकसंस्कृति जगेर्ना र सरकारी तवरबाट प्रवर्द्धनमा सक्रिय निकायमा राजनीति हाबी हुँदा चिन्तित छु ।”
अवस्थीका २०६२र६३ को जनआन्दोलनमा जनवादी गीतले आन्दोलनमा ऊर्जा थप्ने काम गरेको छ । उहाँले भन्नुभयो, “विद्यालयस्तरमै विभिन्न्न प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई उछिन्दै पुरस्कृत हुन्थेँ । अध्ययन र गीतसङ्गीतलाई सँगसँगै अगाडि बढाएँ, सङ्गीतको नसाले अहिले पनि यही क्षेत्रको विस्तारमा तल्लीन छु ।”
सुदूरपश्चिम प्रदेश कला, संस्कृतिमा अब्बल मानिएको बताउँदै अवस्थीले यहाँको कला, संस्कृति र प्राकृतिक सम्पदामा धनी भए पनि तुलनात्मक रूपमा विकासमा भने पछाडि नै रहेको बताउनुहुन्छ ।
सुदूरपश्चिमका देउडा गायक लालबहादुर धामी अछामी बड्डो गायक अवस्थीलाई काली कर्णालीलाई समेटेर मौलिक डेउडाको संरक्षणमा जुटेका स्रष्टाका रूपमा लिनुपर्ने बताउनुहुन्छ । “मौलिकतामा रमाउने भाषा र संस्कृति संरक्षणका लागि उहाँ अहोरात्र खटिइरहनुभएको छ”, धामीले भन्नुभयो, “उहाँको मिहिनेतले हाम्रो कला, संस्कृति हामीपछिका पुस्ताका लागि ज्ञानको पाठशाला हुनेछ ।”रासस



























