देश/प्रदेश
प्रदेश प्रमुखलाई मानवअधिकार आयोग विराटनगरको वार्षिक प्रतिवेदन पेस

विराटनगर, साउन १५ –
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले आयोगको विराटनगर कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ । आज यहाँ आयोजित एक समारोहका बीच आयोगका सदस्य दुवाडीले प्रदेश प्रमुख खापुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले मानव सभ्यतालाई जोगाउन मानवअधिकार सुरक्षित रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज शान्ति, सुरक्षा एवं एकता कायम राख्न एकअर्कालाई माया, प्रेम, सद्भाव र मेलमिलापको भावनाबट हेर्नुपर्ने बताउनुभयो । संविधानमा मानवअधिकार उल्लेख भएअनुसार यसको प्रभावकारी कार्यान्वयमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख खापुङले आयोगले आगामी दिनमा संविधानप्रदत्त अधिकारलाई नागरिक तहसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिँदै मानवअधिकारलाई संरक्षण गर्न सशक्त रूपमा आयोगलाई सफलताको शुभकामना पनि दिनुभयो ।
सो अवसरमा आयोगका सदस्य दुवाडीले सीमित स्रोत र साधनका बाबजुद पनि आयोगले सशक्त रूपमा कार्यसम्पादन गरिरहेको बताउनुभयो । आयोगका विराटनगर कार्यालयका प्रमुख वीरबहादुर मगरले आयोगका गतिविधि तथा कामका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

























