देश/प्रदेश

बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवतीलाई चढाइयो खिर

Banner

गण्डकी, साउन १५-

आज साउन १५ अर्थात् खिर दिवस । यस दिन घरघरमा खिर खाने परम्परा छ । बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पनि आज खिर चढाइयो । कालिका भगवती देवीलाई साउन महिनामा खिर चढाउने चलन छ ।

खिर चढाउने तिथि यस वर्ष साउन १५ मा परेको मन्दिर गुठी समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो । बिहान ७ बजेर ३६ मिनेटको साइतमा देवीलाई खिर चढाइएको उहाँको भनाइ छ । मूल पूजारी जयबहादुर खड्काले विधिवत् पूजाआजा गरेपछि देवी भगवतीलाई खिर चढाइएको थियो ।

शक्तिस्वरुपा कालिका भगवतीलाई खिर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खिर खुवाउने गरिएको अध्यक्ष खड्काले बताउनुभयो । पूर्वजहरुका पालादेखि नै मन्दिरमा खिर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खिर चढाएपछि मात्र बल्ल घरघरमा खिर पकाएर खाने चलन थियो ।

मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर नचढ्ने मूल पूजारी जयबहादुर खड्काले बताउनुभयो । देवीलाई चढाउने खिर अलग्गै पकाउने गरिएको उहाँको भनाइ छ ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनलाई प्रसादीका रुपमा खिर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खिर खुवाउने गरिएको छ । कालिका देवीलाई खिर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घरघरमा खिर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ ।
दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बर्सेनि बडादसैँ र चैतेदसैँमा यहाँ ठूलो मेला लाग्ने गर्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>