स्वास्थ्य
दुई वर्षको उमेरअघि चिनी कम खाँदा भविष्यमा मस्तिष्क स्वस्थ रहने

काठमाडौँ , साउन १५ –
दुई वर्षको उमेरअघि अत्यधिक चिनी नखाने बालबालिकामा जीवनको पछिल्लो चरणमा मस्तिष्कसम्बन्धी रोग, विशेषगरी डिमेन्सियाको जोखिम कम हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
वैज्ञानिकहरूले प्रारम्भिक बाल्यकालको खानपानले दीर्घकालीन स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताएका छन् ।
यो अध्ययन बेलायतमा दोस्रो विश्वयुद्धपछि लागु गरिएको चिनीको राशन प्रणाली समाप्त भएपछि मानिसहरूको खानपानमा आएको परिवर्तनको विश्लेषणमा आधारित छ ।
सन् १९५३ को सेप्टेम्बरमा चिनीमाथिको राशन हटाइएपछि दैनिक चिनीको औसत उपभोग करिब ४१ ग्रामबाट बढेर ८० ग्राम पुगेको थियो । त्यसअघि जन्मिएका र दुई वर्षसम्म कम चिनी सेवन गरेका बालबालिकाको स्वास्थ्य अवस्थालाई पछि जन्मिएका व्यक्तिहरूसँग तुलना गरिएको थियो ।
हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले बेलायतको यूके बायोबैंक परियोजनामा सहभागी करिब ६५ हजार व्यक्तिको तथ्यांक अध्ययन गरेका थिए ।
अध्ययनअनुसार दुई वर्षको उमेरसम्म चिनीको मात्रा सीमित भएका व्यक्तिहरूमा डिमेन्सिया हुने जोखिम करिब २३ प्रतिशत कम देखिएको छ । साथै, डिमेन्सिया देखापर्ने समय पनि औसतमा दुई वर्ष छ महिनाले ढिलो भएको पाइएको छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता जियाझेन झेङका अनुसार जीवनको प्रारम्भिक चरणमा चिनीको सेवन कम गर्नुले दीर्घकालसम्म मस्तिष्कको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ । तर उनले यस सम्बन्धलाई पूर्ण रूपमा पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको पनि स्पष्ट पारे ।
उनका अनुसार हालको अध्ययनले दुई घटनाबिच सम्बन्ध देखाएको भए पनि चिनी नै यसको प्रत्यक्ष कारण हो भन्ने प्रमाण भने दिएको छैन ।
यसअघि भएका अन्य अध्ययनहरूले पनि जीवनको पहिलो एक हजार दिन स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने देखाएका छन् । प्रारम्भिक उमेरमा अत्यधिक चिनी सेवन गर्ने व्यक्तिहरूमा भविष्यमा टाइप–२ मधुमेह, उच्च रक्तचाप तथा अन्य दीर्घकालीन रोगको जोखिम बढ्न सक्ने निष्कर्ष सार्वजनिक भइसकेका छन् ।
स्वतन्त्र अनुसन्धान संस्था ‘कोक्रेन’की अनुसन्धान विज्ञ रेचल रिचार्डसनले अध्ययन रोचक भए पनि यसलाई अन्तिम प्रमाणका रूपमा लिन नमिल्ने बताएकी छन् ।उनका अनुसार अनुसन्धानकर्ताले सहभागीहरूले वास्तवमा कति चिनी खाए भन्ने प्रत्यक्ष जानकारी प्राप्त गरेका थिएनन् । उनीहरूको जन्म भएको समय र राशन प्रणालीको अवस्थाका आधारमा मात्र निष्कर्ष निकालिएको हो ।
साथै, सन् १९४० र १९५० को दशकको जीवनशैली, खानपान तथा बालबालिकाको हेरचाह अहिलेको समयभन्दा निकै फरक भएकाले यस अध्ययनलाई आजका बालबालिकामा सिधै लागू गर्न कठिन हुने उनको भनाइ छ ।
अध्ययनले नयाँ बहस सुरु गरे पनि थप वैज्ञानिक प्रमाण आवश्यक रहेको एस्टन विश्वविद्यालयका क्लिनिकल फार्मेसीका प्राध्यापक इयान मेडमेन्टले बताए । उनका अनुसार ८० वर्षअघिको अवस्थालाई आजको स्वास्थ्यसँग जोड्दा बिचमा अन्य धेरै सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी कारणहरूले पनि प्रभाव पारेका हुन सक्छन् ।
अवलोकनात्मक अध्ययन भएकाले यसले चिनी कम खानु र डिमेन्सिया कम हुनुबिच सम्बन्ध देखाए पनि प्रत्यक्ष कारण–परिणाम सम्बन्ध प्रमाणित नगर्ने अल्जाइमर्स रिसर्च यूकेकी डा.सारा रोड्रिग्सले बताइन् ।
स्वस्थ र सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा तथा स्वस्थ जीवनशैली अपनाउनु मस्तिष्कको स्वास्थ्यका लागि अझै पनि सबैभन्दा प्रभावकारी उपाय भएको उनले उल्लेख गरिन् । यो अध्ययनको प्रतिवेदन ‘न्युरोलोजी’ जर्नलमा प्रकाशित भएको छ । एजेन्सी
























