देश/प्रदेश

शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने

Banner

झापा, साउन १४-

झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई लक्षित गरी उक्त तालिम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार शिक्षकले विद्यार्थीमा देखिने दुव्र्यसनका प्रारम्भिक सङ्केत समयमा पहिचान गर्न सक्ने, आवश्यक प्रारम्भिक परामर्श दिन सक्ने र सम्बन्धित निकायसम्म समन्वय गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिनेछ । यससँगै युवालाई लक्षित सचेतनामूलक कार्यक्रमसमेत अघि बढाइने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार अभियानका लागि हालसम्म जिल्लाभरका ७१ वटा प्रहरी युनिटका ‘फोकल पर्सन’लाई तालिम दिइसकिएको छ । अभियानअन्तर्गत बिर्तामोड नगरपालिकासँगको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयमा लागुऔषधविरुद्ध सचेतनामूलक सामग्री र सूचनाका पोस्टर वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले लागुऔषधमुक्त समाज निर्माणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । प्रहरीका अनुसार झापामा हाल थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन् । आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा बढी दर्ता हुने मुद्दा पनि लागुऔषधसम्बन्धी रहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>