देश/प्रदेश

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सुरक्षा समीक्षा, खोज-उद्धार प्रभावकारी बनाउन निर्देशन

Banner

काठमाडौं, साउन १४-

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ शर्माले बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत विश्लेषण र समीक्षा गरिएको जानकारी दिए ।

उनका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमको सन्दर्भमा पनि समीक्षा गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

रक्षा सचिव शर्माले प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौती र घटनालाई रोक्न प्रोएक्टिभ ढंगले काम गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । यस बैठकले राष्ट्रिय, अन्तराष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाहरुको सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ । र यस किसिमका राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रिय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरु घट्न नदिनको लागि सरोकारवाला निकायहरु प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरुको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरु घट्न नदिनको लागि प्रोएक्टिभ रुपमा काम गर्नेको लागि निर्देशन निर्णय भएको छ । सँगसँगै यो विपद्को समय पनि भएको कारणले गर्दा सम्माननीय प्रधानमन्त्रीको निर्देशनबाट विपद् प्रतिकार्यको लागि विपद्मा नभएको कुराहरु समयमै खोज, उद्धार, राहतका कुराहरु सम्पन्न गरेर नागरिकलाई सेवा सुविधा दिने सन्दर्भमा निर्णय भएको छ ।’

बैठकले हाल मनसुनजन्य विपद्को जोखिमलाई समेत ध्यानमा राख्दै खोज, उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको उनले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनअनुसार विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई समयमै आवश्यक सेवा र सुविधा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको रक्षा सचिव शर्माको भनाइ छ ।

बैठकमा नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>