देश/प्रदेश
देशमा बस्ने वातावरण छैन ! विदेश जाने पासपोर्ट बनाउन पनि दुःख

काठमाडौँ, साउन १४-
सम्भावनाको खोजी र देशभित्र अवसरको अभावले विदेश जान चाहनेको संख्या बढ्दो छ । तर, विदेश जाने पहिलो खुड्किलो अर्थात् पासपोर्ट बनाउनसमेत नागरिकले निकै सास्ती भोग्नुपरेको अवस्था छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड निकै बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेश जान चाहने युवाहरु राहदानी (पासपोर्ट) बनाउन दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ ।
जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरेपनि भीड घटेको छैन ।
दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिनेको संख्या बढ्दा राहदानी विभागमा यतिबेला अत्यधिक चाप छ । सेवाग्राहीको चाप बढेपछि विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा बिहीबारदेखि दुई सिफ्टमा सुरु गरेको छ ।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । साउन २२ सम्म सेवा प्रवाह दुई सिफ्टमा हुनेछ ।
यसैगरी, सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ।






































