देश/प्रदेश
रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिर)

रसुवा, साउन १४-
काठमाडौँ र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो – पासाङ ल्हामु (त्रिशुली राजमार्ग) । यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ ।
राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावती बजारबाट रसुवाको धुन्चेसम्म पुग्दा यो सडकको अवस्था बिजोग छ । सीमाबाट आयात–निर्यात हुने सबै वस्तु यही बाटो हुँदै ल्याउने–लैजाने गरिन्छ ।
ट्रयाक खुलेर सञ्चालनमा आएको ४० वर्ष भइसक्दा बेत्रावती–धुन्चे सडकको अवस्था अझै दयनीय छ । साँघुरो, त्यसमाथि हिलाम्मे भएकाले धुन्चे आउजाउ गर्न निकै सास्ती व्यहोर्नुपर्ने अवस्था छ । बेत्रावती–धुन्चे सडक २०४२ सालदेखि सञ्चालनमा आएको थियो । ४० वर्ष भइसक्दा पनि करिब ३९ किलोमिटरको सडक सबै पक्की बन्न सकेको छैन ।
स्याउबारीसम्म करिब २३ किलोमिटर सडक कालोपत्रे भएपनि बाँकीमध्ये धेरै कच्ची र केही ठाउँमा कंक्रिट ढलान रहेको सडक डिभिजन, नुवाकोटका सूचना अधिकारी ई सुदीप कार्कीले बताए । करिब ३९ किलोमिटर दूरीको सडकको धेरै ठाउँ यतिबेला हिलाम्मे छ ।
कामाख्या कन्स्ट्रक्सनले धुन्चेसम्म ठाउँ–ठाउँमा कंक्रिट ढलान गर्न २०८१ असारमा करिब १५ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ‘ठाउँ–ठाउँमा गरेर ४ किलोमिटर ढलान गर्नुपर्ने हो । भदौ अन्तिमसम्म सकिनुपर्ने सम्झौता हो,’ उनले भने । जेन–जी आन्दोलन, एकैपटक दुईतर्फी काम गर्न नमिल्ने र समय लाग्ने भएकाले ठेकेदार कम्पनीले थप समय मागेको छ ।
रसुवागढीतर्फ जान बेत्रावती–धुन्चेबाहेक विकल्पमा बेत्राबती–मैलुङ–स्याफ्रुवेंशी सडक पनि छ । रसुवागढी जान कालिकास्थान–धुन्चेभन्दा मैलुङतर्फको सडक २५ किलोमिटर छोटो पर्छ । हालै खुलेको र यात्रा गर्न असहज रहेकाले मैलुङतिरको बाटो कम प्रयोग हुन्छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर र बेत्रावती–मैलुङ हुँदै स्याफ्रु पुग्न २९ किलोमिटर छ । धुन्चे निस्कँदा धेरै घुम्ती रहेकाले मैलुङतर्फभन्दा अहिले प्रयोग हुने सडकको दूरी धेरै पर्छ ।
मैलुङतर्फको सडक स्तरोन्नति भएमा बेत्रावती–धुन्चेलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने इन्जिनियर कार्कीले बताए । ‘मैलुङको बाटो खोला आसपास भएकाले कटान भएर प्रयोग गर्न नमिल्ने पनि हुनसक्छ । धुन्चेतिर बाटो लामो भएपनि डाँडा छ,’ उनले थपे, ‘यसलाई वैकल्पिक मार्ग पनि बनाउन सकिन्छ ।’
केही ठाउँमा ढलान र नियमित मर्मत सम्भारबाहेक बेत्रावती–धुन्चे सडकमा सरकारले खासै ठूलो लगानी गरेको छैन । बेत्रावती–धुन्चे सडक मर्मत–सम्भारका लागि साउन ६ मा सडक डिभिजन, नुवाकोटले ठेक्का खोलेको छ । ‘धुन्चे पुग्दासम्म स्याउबारी कटेपछि कच्ची र ढलान छ । अहिले खोलिएको ठेक्का बिग्रेको ठाउँमा टालटुल गर्न हो,’ उनले भने । ९३ लाख र २९ लाख रुपैयाँको दुई वटा फरक–फरक ठेक्का आव्हान् गरिएको हो ।




































