विजनेश
एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’को औपचारिक सुरुवात, नेपाल र भारतमा सेवा विस्तार

काठमाडौँ, साउन १–
एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel भील’ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भको घोषणा गरेको छ। यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्यायको सुरुवात गरेको छ।
भीलले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ। यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिट तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन्।साथै, नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन्।
भीलको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले दक्षिण एसियाली यात्राको सुरुवातलाई थप विशेष बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिलीप ढकालले भन्नुभयो, ‘नेपाल र भारतमा भीलको औपचारिक शुभारम्भ दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो। यो क्षेत्र लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूको घर हो, जसले विश्व स्तरीय प्रविधिमार्फत सहकार्य गर्न, सँगै विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ। भील मार्फत हामी यिनै सम्भावनालाई जोड्ने पूर्वाधार निर्माण गर्दैछौँ, जसले क्रिएटरहरूलाई दिगो करियर निर्माण गर्न र व्यवसायहरूलाई प्रामाणिक कन्टेन्टमार्फत आफ्नो विकासलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ।’

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख Chargé d’Affaires स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत, ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार तथा प्रबन्ध निर्देशक डा. मनीष थापा सम्माननीय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
हाल भील मार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश जोडिएका छन्। नेपाल र भारतका व्यवसायहरूले वेबसाइट तथा क्रिएटरहरूले भीलको एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।
भीलले नेपालमा भुक्तानी प्रक्रियाका लागि NCHL, Fonepay, eSewa, Khalti र Hamro Pay सँग भुक्तानी साझेदार गरेको छ। नेपालमा व्यवसायहरूका लागि NCHL मार्फत, क्रिएटरका लागि Hamro Pay मार्फत, र व्यवसाय र क्रिएटर दुवैका लागि भने Fonepay, eSewa र Khalti मार्फत स्थानीय भुक्तानी सुविधा उपलब्ध हुने छ।

























