चितवन विशेष

लायन्स क्लब अफ चितवन चौतारीद्वारा वातावरण महिनाको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Banner

भरतपुर, असार २८-

लायन्स इन्टरनेशनलले जुलाई महिनालाई “Environment Month (वातावरण महिना)” का रूपमा मनाउँदै आएको अवसरमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तन न्यूनीकरण गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारी को आयोजनामा तथा लायन्स क्लब अफ चितवन चौतारी गार्गी, लायन्स क्लब अफ चितवन युवा, लायन्स क्लब अफ चितवन चौबिसकोटी, लायन्स क्लब अफ चितवन चौतारी शुभारम्भ र लायन्स क्लब अफ चितवन शिशु IVF को सह-आयोजनामा आज भरतपुर–१० स्थित भरतपुर माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

जोन–२४ अन्तर्गत आयोजित उक्त कार्यक्रमको संयोजन एम.जे.एफ. लायन दीपक बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता एम.जे.एफ. लायन प्रदीप पौडेलले गर्नुभएको थियो। कार्यक्रममा पि एम.जे एफ लायन प्रभाकर पण्डित ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने भाइस डिस्ट्रिक्ट गभर्नर पी.एम.जे.एफ. लायन कमल श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै विभिन्न लायन्स क्लबका अग्रज लायन्स, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिनुका साथै बिरुवाको दीर्घकालीन संरक्षणका लागि सुरक्षात्मक तारजाली तथा संरक्षण संरचनासमेत निर्माण गरिएको थियो। वृक्षारोपणसँगै सहभागीहरूलाई बिरुवाको नियमित संरक्षण, स्याहार–सम्भार तथा वातावरणीय जिम्मेवारीबारे पनि सचेतना प्रदान गरिएको थियो।

उक्त अवसरमा वक्ताहरूले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्न वृक्षारोपण सबैभन्दा प्रभावकारी माध्यममध्ये एक भएको उल्लेख गर्दै प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै हरियाली विस्तारमार्फत स्वच्छ, स्वस्थ र दिगो वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा आयोजक क्लबले विद्यालय परिवार, प्रमुख अतिथि, विशिष्ट अतिथि, जोन–२४ अन्तर्गतका सम्पूर्ण लायन्स सदस्य, सह-आयोजक क्लबहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
“रुख रोपौं, वातावरण जोगाऔं; सेवा गरौं, समाज हराभरा बनाऔं।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>