चितवन विशेष

युवा उद्यमीहरुलाई एआईको प्रयोगबाट अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रोत्साहन

Banner

राजु चौधरी

चितवन, असार २७–

चितवनका युवा उद्यमीहरुलाई व्यापार व्यवसायको प्रवद्र्धनमा कृत्रिम बुद्धिमता (एआई)को प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।
आदयन्त एडभाइजरी र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आइडीआई)ले अमेरिकी दूतावास नेपालको साझेदारीमा भरतपुरको पटिहानीमा शुक्रबार सीइओ संवाद ऋंखला गर्दै एआईको प्रयोग र व्यवसाय बिस्तारमा प्रोत्साहन गरेको हो ।

नेपाली व्यवसायहरुमा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न आवश्यक पूँजीको तयारी, बजार रणनीति र एआईको व्यवहारिक प्रयोगको बारेमा युवाउद्यमीहरुसंग संवाद गरिएको इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका कन्ट्री डाइरेक्टर रोशन घिमिरेले जानकारी दिए । चितवनमा पछिल्लो समय आइटी क्षेत्रमा राम्रो विकास भइरहेकाले चितवनका युवा उद्यमीहरु लक्षित यो कार्यक्रम गरिएको घिमिरेले बताए ।

चितवन भित्रमा रहेका उद्यमीहरुलाई कसरी देश बाहिरसम्म व्यापार वृद्धि गर्दै लैजान सकिन्छ भन्नृ उद्देश्यले नै एआइ क्षेत्रका विज्ञहरुबाट संवाद गराइएको घिमिरेले बताए । ‘अहिले नयाँ पुस्ताका उद्यमीहरुले घरेलु बजारमा सफल व्यवसाय स्थापना गरिसक्नु भएको छ, उहाँहरुको व्यापार व्यवसाय नेपालमा मात्रै सिमित नहोस् भन्ने हाम्रो चाहना हो’ घिमिरेले भने–‘युवाहरुलाई एआईको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरमा व्यवसाय विस्तार गर्ने क्षमताको बनाउन चाहन्छौं ।’

नेपाली व्यवसायहरुमा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न आवश्यक पूँजीको तयारी, बजार रणनीति र एआईको व्यवहारिक प्रयोगको बारेमा छलफल गरिएको थियो । फ्युज मेसिनका रणनीतिक प्रमुख तथा साउथ एशियाका प्रवन्ध निर्देशक पाराग श्रेष्ठ र फ्युज मेसिनका एआई शिक्षा प्रमुख रोजेश शिख्राकारले व्यापारमा एआईको प्रयोग र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तारको बारेमा प्रस्तुती दिएका थिए ।

श्रेष्ठले नेपाली उद्यमीहरुले मूल्यलाई मात्रै प्राथमिकतामा राखेर उत्पादन गर्ने भएकाले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले प्रविधिको भरपुर प्रयोग गरि आफ्नो उत्पादनको प्रचारप्रसार गर्न सकिने भएकाले यसतर्फ युवा उद्यमीहरुलाई ध्यान दिन आग्रह गरे । उनले एआईको युगमा नेपाली व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने रणनीति, बजार अवसर पहिचान, माग प्रमाणीकरण, उत्पादन स्थानीयकरण, बजार प्रवेशका प्रभावकारी उपाय तथा लगानीकर्तालाई आकर्षित गर्ने विश्वसनीय व्यवसाय निर्माणको विषयमा आफ्ना अनुभव र व्यवहारिक सुझावहरु दिएका थिए ।

फ्युज मेसिनका एआई शिक्षा प्रमुख शिख्राकारले ‘तपाईको सह–चालकमा एआई’ शीर्षकमा विशेष प्रशिक्षण दिए । उनले कृषि, वित्त, ग्राहक सेवा, सञ्चालन व्यवस्थापन, पर्यटन तथा सेवा क्षेत्रलगायत विभिन्न क्षेत्रमा एआईको व्यवहारिक प्रयोगबारे उदाहरणसहित जानकारी दिएका थिए ।

संवादको अन्तिम सत्रमा अन्तर्राष्ट्रिय विस्तारका लागि आवश्यक कानुनी तथा नीतिगत पक्ष, विश्वव्यापी बजार विस्तारका व्यवहारिक उपकरणहरु, नेपाली कम्पनीहरुबाट लगानीकर्ताले अपेक्षा गर्ने तयारी बारे जानकारी प्रस्तुत गरिएको थियो ।
‘एआई तयारी मार्फत नेपाली उद्यमी शसक्तिकरण’ विषयक उक्त संवाद कार्यक्रममा चितवनका ६० जना युवा उद्यमी, नवप्रवर्तक, व्यवसाय संचालक, लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । युवा उद्यमीहरुले नेपाली उद्यमीले विदेशमा उत्पादन पुर्‍याउन नसकेका कारण र संभावनाका बारेमा जिज्ञाशा राख्दै एआईको प्रयोगको तरिका बारे जानकारी लिएका थिए ।

अमेरिका–नेपाल व्यावसायिक कुटनीति ऋंखला अन्तरगत तेस्रो संस्करणको ‘सीइओ संवाद ऋंखला’ चितवनमा आयोजना गरिएको हो । पहिलो संस्करणको ‘सीइओ संवाद ऋंखला’ पोखरामा आयोजना गरिएको थियो भने दोस्रो संस्करण भैरहवामा ‘पर्यटनका लागि प्रविधि र कथावाचनको सदुपयोग’ विषयमा संवाद गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>