Breaking News

समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल

Banner

काठमाडौँ, असार ६ –

सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताउनुभएको छ ।

६८ औं संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनु भयो । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उहाँको तर्क छ ।

भामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उहाँले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>