स्वास्थ्य
पोषण लेखाजोखा स् तीन सय ४७ बालबालिका कुपोषित

टीकापुर,असार ११ –
वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ ।
टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् । पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि ‘स्क्रिनिङ’ थालिएको जनाएको छ ।
“टीकापुर नगरपालिकाले बालबालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ । अभियानका क्रममा १ हजार ८ सय ६४ बच्चाको पोषण परीक्षण गरिएको थियो”, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल भन्नुहुन्छ, “कुपोषित बालबालिकाको पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सुधारबारे थप तालिम दिन थालेका छौँ ।”
पालिकाले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको र कुपोषित बालबालिकालाई पाँच वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको रावलको भनाइ छ ।
स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित छलफल गरिएको छ । अझै समुदायस्तरमा पोषण सुधारका लागि स्वयंसेविकामार्फत सचेतना फैलाउनुपर्ने, बाल भिटाको प्रयोग बढाउनुपर्ने रावल बताउनुहुन्छ । “स्वयमसेविकाले समुदायमा गर्भावस्थादेखि नै पोषणसम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढाउन सघाउनुका साथै कुपोषण न्यूनिकरण तथा स्वास्थ्य सुधारमा सघाइरहको छन्”, उहाँ भन्नुहुन्छ, “आमा र बच्चाको पोषण सुधारका लागि स्वयम सेविका, स्वास्थ्यकर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।”
टीकापुर नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरी पोषण सुधारका लागि हजार दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताउनुभयो । “हामीले महिला गर्भवती भएको थाह पाएदेखि खानपान, रहनसहन, नियमति जाँचबारे जानकारी दिन्छौैँ”, चन्द्रादेवी भन्नुहुन्छ, “हामीले रातदिन काम गर्दा पनि परिवार जिम्मेवार नबन्दा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सोचेजस्तो हुन सकेको देखिँदैन ।”
वडा नं २ सीतापुरका स्वयंसेविका सरस्वती चौधरी घरघरमा गई पोषणसम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार, जाँचलगायतका कुराबारे सचेत गराउने गरिएको बताउनुहुन्छ । “घरमै गएर गर्भवती र परिवारका सदस्यलाई पोषणबारे जानकारी दिन्छौँ”, उहाँ भन्नुहुन्छ, “घर वरिपरि भएका पोषिला खानेकुरा खान सल्लाह दिन्छौँ ।”
स्वयंसेविकाले भिटामिन ए, जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन् । यसका साथै स्वास्थ्यकर बानीबारे समेत जानकारी दिने, पोषणयुक्त खानपानबारे जानकारी दिने गरेका वडा नं ३ का स्वयम सेविका चन्द्रा चौधरी बताउनुहुन्छ । “हामीलाई समुदायका मानिसका आर्थिक अवस्था, पारिवारिक अवस्था सबै थाह हुन्छ”, उहाँ भन्नुहुन्छ, “पोषण सुधारका लागि परिवार मुख्य जिम्मेवार बन्नुपर्छ ।”
टीकापुर ४ का स्वमंसेविका दुर्गा पराजुली गर्भावस्थादेखि बच्चा दुई वर्षको हुञ्जेलसम्म आमा र बच्चाको स्याहार, पोषण सुधारबारे जानकारी दिने गरिएको बताउनुहुन्छ । “स्थानीय रुपमा पाइने पोषिलो खानेकुरा प्रयोग गर्न प्रेरित गर्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “बच्चालाई स्तनपान र पूरक आहारा, खोप लगायतबारे जानकारी दिने गरिएको छ ।”
पालिकाले पोषण सुधारमा परिवारलाई जिम्मेवार बनाउन सुत्केरीलाई पोषण सामग्री दिने गरेको छ । टीकापुर –४ ले ५० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ । पचास जना सुत्केरीलाई आधा किलो घ्यू र एक क्यारेट कुखुराको अण्डा वितरण गरिएको टीकापुर ४ का वडाध्यक्ष लालविर चौधरीले बताउनुभयो । रासस


























