चितवन विशेष
एमालेले रास्वपाको चितवनमा हुने महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

चितवन,असार ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवाली जाने भएका हुन् ।
यद्यपि, एमालेका उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईसहितका केही पदाधिकारी काठमाडौंमै छन् । तर, पार्टीमा विकसित पुनर्गठन अभियानमा उनीहरू ओली इतर कित्तामा छन् । ज्ञवालीले भने लुम्बिनी प्रदेश भेलामा ओली बहिर्गमनको विरोध गर्दै अभिव्यक्ति दिएका थिए । उनी ओलीका विश्वासपात्रका रूपमा रास्वपा महाधिवेशनलाई शुभकामना दिन जान लागेका हुन् ।
ज्ञवाली गत महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गर्न चाहन्थे । तर, ओली शंकर पोखरेललाई नै महासचिव दोहोराउने निर्णयमा पुगेपछि ज्ञवाली भावुक हुँदै महाधिवेशनस्थलबाट बाहिरिएका थिए । अहिले महासचिव पोखरेल ओली बहिर्गमन पक्षधर हुँदा ओलीले ज्ञवालीको साथ पाएका छन् ।


























