तनहुँ
विश्व वातावरण दिवसः तनहुँमा वृक्षरोपण

दमौली (तनहुँ), जेठ २२ –
विश्व वातावरण दिवसको अवसरमा तनहुँमा वृक्षरोपण गरिएको छ । कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा व्यास नगरपालिका–४ स्थित बाघभञ्ज्याङ सामुदायिक वनमा आज वृक्षरोपण गरिएको हो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले वातावरण हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिनुभयो ।
वन तथा वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले वृक्षरोपण केवल बिरुवा रोप्ने कार्यमा सीमित नभई त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वातावरण संरक्षणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै वन, पानी र जैविक विविधताको संरक्षणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बढ्दो सहरीकरण र वातावरणीय चुनौतीका बीच वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले वातावरण संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताउनुभयो । रासस
























