गोरखा

भीमसेनथापा गाउँपालिकाद्धारा वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न अक्युपञ्चर सेवा सुरु

Banner

गोरखा, जेठ ९ –

गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भन्नुभयो, “गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।”

जिल्लामा पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताउनुभयो । “स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ”, उहाँले भन्नुभयो, “यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन् ।”

स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसा (स्नायु)सम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्तै उपयोगी हुनेछ । साथै पक्षघात (प्यारालाइसिस)जस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>