राजनीति
प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति होः अध्यक्ष दाहाल

काठमाडौं , वैशाख ११ –
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे ।
उनका अनुसार गैरआवसीय नेपाली संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा जोड्ने मात्र नभई उनीहरूको अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
उनले भने,‘देशबाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्ति मात्र होइन् । त्यो ज्ञान, अनुभव र राष्ट्रिय भावनाको जनशक्ति पनि हो । यही सन्दर्भमा गैरआवसीय नेपाली संघको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस संस्थालाई विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काम मात्र गरेको छैन् । नेपाली अुनभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने काम पनि गर्दै आएको छ ।’
उनले सार्वजनिक गरिएको पुस्तकलाई केवल प्रकाशन सामग्रीको रूपमा नभई राष्ट्रिय बहसको प्रारम्भिक दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे ।
उनका अनुसार ति पुस्तकको गम्भीर अध्ययन, समीक्षा र बहसमार्फत उपयोगी निष्कर्ष निकाल्न सके देश विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।
उनले भने,‘राष्ट्रनिर्माण केवल सरकारको काम मात्र होइन् । यो साझा दायित्व हो । जहाँ राज्य, समाज ,नागरिक बुद्दिजिवी ,युवा पुस्ता, प्रवास नेपाली समुदायको उत्तिकै भूमिका हुन्छ । त्यसैले आज सार्वजनिक पुस्तकलाई म केवल प्रकाशन सामग्रीको रुपमा मात्र होइन् । राष्ट्रिय बहसका प्रारम्भिक दस्तावेजको रुपमा हेर्न चाहन्छु । यी पुस्तकको गम्भीर अध्ययन, समिक्षा र बहस गरेर उपयोगी निष्कर्ष सामाजिक सोचसँग जोड्यो भने यी पुस्तक देश विकासमा कोशेढुंगा सावित हुन्छ । देश योजनाले मात्र होइन् दृष्टिकोणले बन्छ । देश केवल नाराले बन्दैन् । देश अनुशासन र साझा प्रतिबद्धताले बन्छ ।’
देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैनः उपेन्द्र महतो
यस्तै कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बताए ।उनले गैरआवसीय नेपाली अभियान सुरु हुनुको आधार नै यही सोच भएको उल्लेख गरे । महतोले नेपालभित्र र बाहिर रहेका सबै नेपालीको साझा पीडा देशको समृद्धि नहुनु रहेको बताए ।
उनले लेखन र भाषण सजिलो भएपनि वास्तविक जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गरे । पुस्तकको संख्या मानवको संख्याभन्दा बढी हुन सक्छ, तर जिम्मेवारी कहाँ छ ? उनले प्रश्न गरे ।
उनले भने,‘व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगेतापनि यदी देश समृद्ध भएन भने त्यो व्यक्तिगत सफलताको कुनै मान्यता हुँदैन भन्ने सोच र मान्यताले गैरआवसीय नेपाली अभियान सुरु भएको हो । नेपाल र नेपाली बाहिर जहाँ बसेपछि एउटै पीडा छ । मेरो देश समृद्धि किन भएन ? लेखन र भाषण धेरै सजिलो छ । पुस्तकको संख्या मानवको संख्या भन्दा बडि होला तर जिम्मेवारी खै त ? अरुको पीडामा हामी दुखी हौं अनि मात्र देश बन्छ ।’
पुस्तक मात्र होइन, राष्ट्रिय प्रश्न सार्वजनिक भएको छः लेखक, खेम शर्मा
त्यसैगरी लेखक खेम शर्माले २४ वटा डिजिटल पुस्तक सार्वजनिक गरिएको जानकारी दिँदै यो केवल पुस्तक प्रकाशन नभई एक सोच, जिम्मेवारी, प्रतिबद्धता र राष्ट्रिय प्रश्न सार्वजनिक भएको बताएका छन् ।उनका अनुसार ती पुस्तकहरूले नेपाललाई कसरी अझ राम्रो देश बनाउन सकिन्छ भन्ने मूल प्रश्न उठाएको छ ।
‘आज हामी २४ वटा डिजिटल पुस्तक सार्वजनिक गर्दैछौं तर पुस्तक मात्र सार्वजनिक भइरहेको छैन। यहाँ एउटा सोच, एउटा जिम्मेवारी, एउटा प्रतिबद्धता र एउटा राष्ट्रिय प्रश्न सार्वजनिक भइरहेको छ । त्यो हो नेपाललाई कसरी राम्रो देश बनाउन सक्छौं भन्ने कुरा,’ उनले भने ।
शर्माको मनमा नेपाल किन आफ्नो पूर्ण सम्भावनासम्म पुग्न सकेन भन्ने प्रश्न लगातार उठिरहेको थियो ।उनका अनुसार, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि यो प्रश्न अझ गम्भीर बनेको थियो । त्यसपछि पछिल्ला सात महिनासम्म दैनिक १४ देखि १६ घण्टा पढ्ने, लेख्ने, सोच्ने, छाँटकाँट गर्ने र पुनर्लेखन गर्ने कठोर अनुशासनमा रहेर पुस्तक तयार पारेको उनले सुनाए ।उनले पुस्तक लेखनलाई केवल लेखन नभई एक प्रकारको तपस्या भएको उल्लेख गरे ।
उनले भने,‘नेपाल किन आफ्नो पूर्ण सम्भावनासम्म पुग्न सकेन भन्न प्रश्न मेरो मनमा लगातार आयो । भदौै २३ र २४ गतेको जेनजी आन्दोलनको भोलीपल्टदेखि यो प्रश्न अझ गम्भीर हुँदै गयो । त्यहाँदेखि पछिल्ला सात महिनासम्म हरेक दिन १४ देखि १६ घण्टासम्म पढ्ने, लेख्ने, सोच्ने, छाँटकाँट गर्ने ,मिलाउने र पुर्नलेखन गर्ने कठोर अनुशासन म बाट सुरु भयो । मेरो लागि त्यो पुस्तक लेखनमात्रै होइन् ,एउटा तपस्या पनि थियो । थकान आयो, शंका आयो, एक्लोपनपनि आयो तर यात्रा कहिल्यै रोकिएन ।’
























