चितवन विशेष

स्टार्स मन्टेश्वरी एकेडेमीले नि:शुल्क ब्रेक क्याम्प गर्ने

Banner

चितवन, वैशाख ५-
भरतपुर–११, मालपोत चोकमा अवस्थित स्टार्स मन्टेश्वरी एकेडेमीले ‘Open Free Session Break Camp 2083’ आयोजना गर्ने भएको छ। साना बालबालिकालाई सिर्जनशील, रमाइलो तथा सिकाइयुक्त वातावरण प्रदान गर्ने उद्देश्यले उक्त क्याम्प सञ्चालन गर्न लागिएको हो।
उक्त क्याम्प बैशाख ७ गतेदेखि १७ गतेसम्म दैनिक बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। २ देखि ६ वर्ष उमेर समूहका जुनसुकै विद्यालय वा मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरूले सहभागिता जनाउन सक्नेछन्। क्याम्प पूर्ण रूपमा निःशुल्क रहनेछ।
सरकारले बैशाख २१ गतेसम्म विद्यालयहरूमा पठनपाठन सञ्चालन नगर्न निर्देशन दिएको सन्दर्भमा सो समयको सदुपयोग गर्दै क्याम्प आयोजना गरिएको प्रबन्ध निर्देशक गणेश राना मगरले जानकारी दिनुभयो। उहाँका अनुसार लामो बिदाका कारण विशेषगरी कामकाजी अभिभावकहरूलाई साना बालबालिकाको व्यवस्थापन गर्न कठिन हुने गरेको छ।
अहिले सिंगल फ्यामिलीको संख्या बढ्दै गएकाले २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई घरमा सुरक्षित र सक्रिय राख्न चुनौती थपिएको उहाँले बताउनुभयो। घरमा कोही भए पनि मोबाइल तथा टेलिभिजनमा बढी निर्भर हुनुपर्ने अवस्था सिर्जना हुने र यसले दीर्घकालीन रूपमा बालबालिकामा नकारात्मक असर पार्न सक्ने भएकाले क्याम्पमार्फत बालबालिकालाई सक्रिय र सिर्जनात्मक बनाउने उद्देश्य राखिएको छ।
क्याम्पमा ध्यान तथा योग, फेस पेन्टिङ, आर्ट क्लास, संगीत, नृत्य, तेक्वान्दो, घोडा सवारी, माटोका सामग्री बनाउने, बोल्ने कला, बलुन वितरण तथा विभिन्न रमाइला खेलहरू समावेश गरिनेछन्। साथै सहभागी बालबालिकाहरूलाई एक पटकको खाजा पनि उपलब्ध गराइनेछ।
करिब १६ वर्षदेखि मन्टेश्वरी शिक्षा क्षेत्रमा क्रियाशील संस्थाले यस उमेर समूहका बालबालिकाप्रति आफ्नो दायित्व बहन गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। क्याम्पमा सिट सीमित रहेकाले इच्छुक अभिभावकहरूलाई अग्रिम दर्ता गराउन अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>