बलिउड/हलिउड
कस्तो छ बलिउडकी दिग्गज गायिका आशा भोसलेको स्वास्थ्य अवस्था ?

काठमाडौँ,चैत २९-
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई शनिबार साँझ मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । उनलाई अत्यधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएको छ । यसअघि उनलाई हृदयघात भएको भन्ने जानकारी बाहिरिएको थियो ।
तर उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘मेरी हजुरआमा आशा भोसले अत्यधिक थकान र छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना हुनु भएको हो। उहाँको उपचार भइरहेको छ र चाँडै सबै ठीक हुने अपेक्षा गरेका छौँ । हामी छिट्टै राम्रो खबर दिनेछौँ ।’
अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार, आशा भोसलेको अस्पतालको आपतकालीन चिकित्सकीय सेवा इकाइ (एचइओसी)मा उपचार भइरहेको छ। १२ हजारभन्दा बढी गीत गाएकी छन् ।
आशा भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीत गाइसकेकी छन् । उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन् । तर उनको सङ्गीत यात्रा त्यति सजिलो भने थिएन ।
आशा भोसले प्रसिद्ध रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन् । उनी मात्र ९ वर्षकी हुँदा उनका बुबाको निधन भएको थियो । त्यसपछि परिवारलाई सहयोग गर्न उनले दिदी लता मंगेशकरसँगै गायन सुरु गरेकी थिइन् ।
१६ वर्षको उमेरमा आशा भोसलेले परिवारको इच्छाविरुद्ध भागेर लता मंगेशकरका सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । यस विवाहको लता र परिवारले कडा विरोध गरेका थिए, जसका कारण लामो समयसम्म उनीहरूबीच बोलचाल समेत बन्द भएको थियो ।
आशा भोसलेले आफ्नो करियरमा धेरै अवार्डहरू प्राप्त गरेकी छन् । यसमा ७ वटा फिल्मफेयर अवार्ड समावेश छन्, जुन उनलाई उत्कृष्ट महिला पार्श्वगायिकाको रूपमा प्रदान गरिएको थियो । साथै, उनले एक लाइफटाइम अचीभमेन्ट अवार्ड पनि प्राप्त गरेकी छन् ।
त्यसैगरी, उनलाई सन् २००० मा दादासाहेब फाल्के अवार्ड र सन् २००८ मा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मानहरू पनि प्रदान गरिएको थियो । सन् २०१३ मा आशा भोसलेले मराठी चलचित्र ‘माई’ मा अभिनय समेत गरेकी थिइन् ।


























