स्वास्थ्य
विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, स्थानीयलाई सास्ती

मुगु, चैत २७-
सरकारले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि संविधानमा नै स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न नीतिहरु अघि सारेको छ । तर हिमाली जिल्ला मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य संस्थामा रहेको उपकरण प्रयोगविहीन हुनुका साथै स्थानीय नागरिकहरुले समस्या भोग्दै आएका छन् ।
मुगुको खत्याड गाउँपालिका ११ रातापानीका अन्दाजी ५० वर्षीय धनराज कार्की आफ्नो अपांगता भएका नातिको लागि चिकित्सकीय सिफारिस लिन र आफ्नो आँखा ,पेट र कम्मरमुनिको भाग दुख्ने समस्या लिएर स्वास्थ्य केन्द्र पुगेका थिए । तर स्वास्थ्य सस्थामा डाक्टर नहुँदा उनी सिफरिस र उपचार नगरी रित्तै हात फर्किनुपर्यो ।
स्वास्थ्य केन्द्रमा आवश्यक चिकित्सक नहुँदा बिरामीहरू सामान्य उपचारका लागि समेत घण्टौँ हिँडेर जिल्ला सदरमुकाम गमगढी, पालिकाभित्र रहेका नजिकका मेडीकल र छिमेकी जिल्ला बाजुराको धुलाचौर वा अन्य स्थान पुग्न बाध्य भएका छन् ।
डाक्टर अभावकै कारण स्वास्थ्य केन्द्रमा रहेका उपकरणहरू समेत प्रयोगविहीन बनेका छन् । एक्सरे, भिडियो एक्सरे, हाडजोर्नी, इसीजी, फिजियोथेरापी सम्बन्धी समस्या लिएर आउने बिरामीहरूले समेत उचित जाँच नपाएर फर्किनु परेको छ ।
स्वास्थ्य केन्द्रमा उपकरण भएर के गर्ने एक महिना भन्दा बढी भयो डाक्टर नहुदा सामान प्रयोगबिहीन भएका छन । बिरामी भए पछि हुने खार्ने रुपैया भएका मान्छेहरु बाजुराको कोल्टी,सुर्खेत,नेपालगन्ज जाने गरेको छन । आर्थिक कम भएका बिरामीहरुलाई निकै समस्या भएको छ ।
यसअघि स्वास्थ्य केन्द्रमा डाक्टर विकास धिताल काजमा खटिएका थिए । उनको काज अवधि सकिएपछि हाल स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ । डाक्टर अभावका कारण टेलिमेडिसिन, एक्सरे, भिडियो एक्सरे, फिजियो थेरापी, इसिजीजस्ता उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
स्वास्थ्य केन्द्रका अनुसार सीमित स्रोतसाधन र जनशक्तिले सबै बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको छ । डाक्टर अभाव भएको झण्डै एक महिना बितिसकेको छ ।
डाक्टर अभाव भइरहेकोबारे पालिका, स्वास्थ्य ब्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ भने स्वास्थ्य संस्थामा औषधी र अन्य सेवाहरु नियमित भइरहेको स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब नारायण कार्कीले बताए ।
डाक्टरको ब्यावस्थापनको लागि के भइरहेको छ भन्दा खत्याडगाँउपालिकाले अबको केही समयमा ब्यावस्था पन गर्नको लागि पालिकाबाट ब्यावस्था भई रहेको खत्याड गाँउपालिकाले जनाएको छ ।
रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा खत्याडका मात्र नभई छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट समेत बिरामी आउने गरेका छन्।
तर डाक्टर अभावका कारण उनीहरू पनि उपचारविहीन फर्कनु परेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले दरबन्दीसहित स्वास्थ्यकर्मी खटाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् । न्यूज बैंक
























