राजनीति
धनुषा १ः विवादका नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

जनकपुरधाम, फागुन २५-
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
अन्तिम मतगणना परिणाम अनुसार यादवको १० हजार ४०३ मत परेको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो । यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत घन्टीछापमा परेको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।
गत फागुन १८ गते रासोपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सोही रिट पर सुनवाई गर्दै सर्वोच्च अदालतले तत्काल निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो । तर उम्मेदवार खारेजीको अवस्थामा त्यसपछि पछिको आफ्नो पहिलो मत रहेकाले निर्वाचन परिणाम घोषणा गर्न र आफूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाका उम्मेदवार यादवले दबाब दिएका थिए।
























