राजनीति
पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत

पर्वत, फागुन २५-
पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । आज सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा नेकपा (एमाले)ले १३ हजार ३५० मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ३८४ मत पाएको छ ।
यसरी नतिजा हेर्दा एमाले, कांग्रेस र नेकपा गरी तीन वटै दलले पाएको मतभन्दा रास्वपा एक्लैले पाएको मत बराबर जस्तै रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४७७ र राष्ट्रिय जनमोर्चाले १२८ मत पाएको छ । पर्वतमा समानुपातिकतर्फ साना ठूला गरी १५ वटा राजनीतिक दललाई मत परेको थियो । अन्य राजनीतिक दलको मत सङ्ख्या १०० भन्दा कम रहेको छ ।
पर्वतमा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार सागर भुसालले फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । प्रत्यक्षतर्फ खसेको मत र समानुपातिक तर्फको मतमा कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो तथा राप्रपा पाँचौँ स्थानमा परेका हुन् ।
पर्वतमा यसअघि नेकपा ९एमाले० का उम्मेदवार पदम गिरी लगातार दुई पटक विजयी हुनुभएको थियो भने त्यसअघि तीन पटकसम्म नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी विजयी हुनुभएको थियो ।
पुराना राजनीतिक दल र पटकपटक दोहोरिएका उम्मेदवारहरूप्रति नागरिकको असन्तुष्टि बढेका कारण विगतका निर्वाचनभन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्मेदवार भुसाल विजयी हुनुका साथै समानुपातिकतर्फ नयाँ दलले नै बढी मत पाएको हो । पर्वतमा समानुपातिकतर्फ ६६ हजार २८७ मत खसेकोमा एक हजार ६५४ मत बदर भएका हुन् । रासस






















