राजनीति
हर्क साम्पाङसहित श्रम संस्कृतिले जित्यो तीन सिट

इटहरी, फागुन २४
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ। साम्पाङ नेतृत्वको पार्टीले सुनसरी, भोजपुर र खोटाङमा विजय हासिल गरेको हो।
अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट विजयी भए। धरान उपमहानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले ३५ हजार ७४१ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई आठ हजार ४९२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्। गोमाले २७ हजार २४९ मत प्राप्त गरिन्।
भोजपुरबाट श्रम संस्कृति पार्टीका धुव्रराज राई विजयी भएका छन्। उनले कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले सचिव शेरधन राईलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। धुव्रराजले १६ हजार ६६३ मत ल्याएर जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे।
खोटाङबाट श्रम संस्कृति पार्टीका ओरेन राई विजयी भएका छन्। उनले १६ हजार ६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे।























