राजनीति
चुनाव हार्ने निश्चित भएपछि महेशले भने– जनताको माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो

काठमाडौँ, फागुन २३-
भक्तपुर– २ का उम्मेदवार एवं नेकपा (एमाले) का सचिव महेश बस्नेतले मतगणना नसकिँदै हार स्वीकारेका छन् । बस्नेतले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै विजयोन्मुख रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीब खत्रीलाई बधाई दिएका छन् ।
यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्छु’, उनले भने । उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
राजनीतिमा जितहार स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ । ‘तर, जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन । अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौँ’, उनले लेखेका छन् ।
























