विचार/ब्लग

रक्तदान अभियानमा मेरो यात्रा

Banner

अर्जुन अधिकारी (उमेरः २५ वर्ष)-

करिब ५ वर्षदेखि म एक नियमित रक्तदाता मात्र होइन, रगत सहजीकरण अभियानमा सक्रिय रूपमा संलग्न एक अभियन्ता हुँदै आएको छु । “अभियान तपाईँ–हामी सबैको साझा संकल्प, एक घर, एक रक्तदाता” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, मैले आफ्नो युवावस्थाको महत्वपूर्ण समय मानव जीवन बचाउने यस महान् अभियानमा समर्पित गर्दै आएको छु । रगतको अभावका कारण कोही पनि उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले सुरु गरिएको मेरो यात्रा आज संस्थागत रूप लिँदै हजारौँ जीवनसग जोडिन पुगेको छ ।

रक्तदान मेरो लागि केवल एक स्वास्थ्य गतिविधि होइन, यो मानवतासँग जोडिएको एक सामाजिक दायित्व हो । सुरुवाती दिनहरूमा म स्वयं रक्तदाता बनेर विभिन्न रक्तदान कार्यक्रममा सहभागी हुन थालेँ । बिस्तारै रगतको अभावका कारण बिरामी र उनका परिवारले भोग्नुपरेको पीडा नजिकबाट देखेपछि, केवल रक्तदान गरेर मात्र पुग्दैन, रगतको व्यवस्थापन र सहजीकरणमा पनि सक्रिय भूमिका आवश्यक रहेछ भन्ने महसुस भयो । यही सोँचले मलाई अझ व्यवस्थित रूपमा यो अभियानमा लाग्न प्रेरित गर्‍यो ।
यसै क्रममा, कोरोना कहरको अत्यन्त कठिन समयमा मैले केही साथीहरूसँग मिलेर ब्लड डोनर्स सोसाइटी नेपाल ( Blood Donors Society Nepal) नामक सामाजिक संस्थाको स्थापना गर्‍र्यौँ । संस्थाको स्थापना दिवस माघ १७ र आजको मितिसम्म संस्थाले ५ वर्ष पूरा गरिसकेको छ । कोरोना महामारीको समयमा देशभर रगतको चरम अभाव देखिएको थियो । लकडाउन, यातायातको अभाव, डर र अनिश्चितताका कारण धेरै रक्तदाता रक्तदान केन्द्रसम्म पुग्न सकेका थिएनन् । त्यस्तो संकटपूर्ण अवस्थामा बिरामीहरूका लागि रगत जुटाउनु झनै चुनौतीपूर्ण बनेको थियो । यही अवस्थालाई मध्यनजर गर्दै, हामीले डिजिटल माध्यम, सामाजिक सञ्जाल र स्वयंसेवकहरूको सञ्जाल प्रयोग गरी रगत आवश्यक परेका बिरामी र इच्छुक रक्तदाताबीच पुलको काम सुरु गर्‍र्यौँ ।

ब्लड डोनर्स सोसाइटी नेपालमार्फत हामीले २० औं हजार ब्यक्तिहरुलाई रगत सहजीकरण गरिसकेका छौँ । असंख्य बिरामी, दुर्घटना पीडित, सुत्केरी महिला, थालासेमिया, क्यान्सर तथा अन्य गम्भीर रोगबाट पीडित व्यक्तिहरूका लागि समयमै रगत उपलब्ध गराउन सफल भएका छौँ । हाम्रो संस्थाले गरेका गतिविधिहरू पारदर्शिता र जनविश्वास कायम गर्न अनलाइन माध्यममार्फत नियमित रूपमा सार्वजनिक गरिँदै आएका छन् । यसले आम नागरिकमा रक्तदानप्रति सकारात्मक सोँच विकास गर्न ठूलो योगदान पुर्‍याएको छ ।

हाम्रो अभियानको एक ऐतिहासिक उपलब्धि यहि २०८२ जेठ ३१ गते १७१७ पिन्ट रगत संकलन गर्दै राष्ट्रिय कीर्तिमान (रेकर्ड) कायम गर्नु हो । यो केवल संख्यात्मक उपलब्धि मात्र होइन, नेपाली समाजमा रक्तदानप्रतिको चेतना, एकता र सामाजिक उत्तरदायित्वको सशक्त प्रतीक हो । हजारौँ रक्तदाताहरूको सहभागिता, स्वयंसेवकहरूको अथक मेहनत र विभिन्न संघ संस्थाको सहकार्यबाट सम्भव भएको यो उपलब्धिले हामीलाई अझ ठूलो जिम्मेवारीबोध गराएको छ । यसै अभियानको सफल सफलता पछि नवलपुर जिल्ला शाखाले नवलपुर जिल्लाकै उच्च रगत संकलनको उद्देश्य राख्दै नवलपुर रक्तदान महोत्सव आयोजना समेत गरेको छ ।

त्यसैगरी, हाम्रो संस्थाले “मेची–महाकाली रक्तदान अभियान” अन्तर्गत देशका विभिन्न भूगोल समेट्दै रक्तदान सम्बन्धी उत्प्रेरणा, सचेतना र विमर्श कार्यक्रम सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत हामीले मेचीदेखि महाकालीसम्मका ३२ जिल्लामा पुगेर रक्तदान कार्यक्रम, अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधिहरू सम्पन्न गरेका छौँ । दुर्गम र ग्रामीण क्षेत्रसम्म पुगेर रक्तदानको महत्व बुझाउनु, युवालाई स्वयंसेवक र रक्तदाता बन्न प्रेरित गर्नु तथा स्थानीय तहसँग समन्वय गरी दिगो रक्त व्यवस्थापन प्रणाली विकास गर्नु हाम्रो मुख्य लक्ष्य रहेको छ ।

मेरो व्यक्तिगत जीवनमा पनि यस अभियानले गहिरो प्रभाव पारेको छ । २५ वर्षको उमेरमा मैले हजारौँ मानिसहरूको पीडा, आशा र जीवनसँग नजिकबाट साक्षात्कार गर्ने अवसर पाएको छु । हालसम्म मैले २३ पटक रक्तदान गरिसकेको छु, जुन मेरो लागि गर्वको विषय मात्र होइन, निरन्तर सेवाको प्रतिबद्धता पनि हो । कुनै बिरामीका आफन्तले “आज तपाईँहरूको कारणले हाम्रो मान्छे बाँच्यो” भनेर धन्यवाद दिँदा, त्यसले दिने आत्मसन्तुष्टि शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । यही आत्मसन्तुष्टिले मलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।

भविष्यमा ब्लड डोनर्स सोसाइटी नेपाललाई अझ सशक्त, प्रविधिमैत्री र देशव्यापी रूपमा विस्तार गर्ने मेरो स्पष्ट लक्ष्य छ । प्रत्येक जिल्लामा सक्रिय रक्तदाता सञ्जाल निर्माण गर्ने, डिजिटल रगत व्यवस्थापन प्रणाली विकास गर्ने, नियमित रक्तदान शिविर सञ्चालन गर्ने तथा विद्यालय–कलेज तहबाटै रक्तदान संस्कृतिको विकास गर्ने हाम्रो दीर्घकालीन योजना हो ।

अन्त्यमा, म दृढ विश्वासका साथ भन्न चाहन्छु रगत कुनै कारखानामा उत्पादन हुँदैन, यो केवल मानवबाट मानवका लागि मात्र सम्भव हुन्छ । त्यसैले रक्तदान केवल व्यक्तिगत पुण्य होइन, यो सामाजिक जिम्मेवारी हो । मेरो जीवनको यो यात्रा अझै जारी छ, र म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नियमित रक्तदाता बन्न, रगत सहजीकरणमा साथ दिन, र जीवन बचाउने यस पवित्र अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछु ।

(लेखक अधिकारी ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष हुन्)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>