Breaking News

चितवनको रत्ननगरमा लुटपाट गर्दै वृद्धको हत्या गर्ने पाँच जना पक्राउ

पहिले डेरा बसेकाले नै बनाएका थिए योजना

Banner

चितवन, माघ १५–

गत पुस २६ गते पूर्वी चितवनको रत्ननगर नगरपालिका–४, स्थित सिनेमा रोडमा बस्दै आएकी ६३ वर्षीया सुकमाया देवी तामाङ दिउँसोसम्म पनि घर बाहिर ननिस्किएपछि स्थानीयले खोजी सुरु गरे । सधै बिहानै उठेर घर बाहिर निस्कने, सरसफाईमा खटिने सुकमाया विहान १० बज्दा पनि बाहिर नदेखिएपछि छिमेकीले हेर्न जाँदा घरभित्रै मृत अवस्थामा फेला परे । तत्काल प्रहरी पुगेर मुचुल्का उठाउँदा वृद्धको हत्या भएको हुन सक्ने देखिएपछि अनुसन्धान अघि बढ्यो । अन्ततः घटना भएको १९ दिनमै प्रहरीले वृद्धको हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भयो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सुकमायाको हत्यामा संलग्न पाँच जना पक्राउ परेको जानकारी दियो । प्रहरीका अनुसार हत्यामा संलग्न बारा जितपुर सिमरा उप–महानगरपालिका–२२ स्थायी घर भई हाल रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भन्ने शुक्र बहादुर भोलन, बारा जितपुर सिमरा उप–महानगरपालिका–२२ चकरी घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाईवा, धादिङ थाक्रे गाउँपालिका–५ बस्ने ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका–४ सिनेमार बस्ने ३१ वर्षीय मिलन भन्ने की बहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाण्डौ थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याडस पक्राउ परेका छन् ।

उनीहरुलाई फरक–फरक समय र ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । शुक्रलाई रत्ननगर–७, स्थित चित्रसारीबाट प्रहरीले पक्राउ गरेको थियो भने वाइवालाई रत्ननगर–१ सौराहा चोक, बुद्धिमानलाई नवलपरासी बर्दघाट पूर्व त्रिवेणी गाउँपालिका–४, सर्दी बगैचाबाट, कौ बहादुरलाई इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र हिरा बहादुरलाई काठमाडौंको थानकोटबाट पक्राउ गरिएको हो ।

सुरुमा घटनाका मुख्य योजनाकार मोटे र विजय भन्ने शुक्र बहादुर भोलनलाई पक्राउ गरेको थियो । घटना भएको ३ दिन भित्रमै उनलाई पक्राउ गर्न सफल भएपछि अन्य अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एंव प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए । ‘घटनास्थलमा प्रहरीले कुकुरको प्रयोगदेखि सबै प्रविधि प्रयोग गरेर अनुसन्धान अघि बढाएको थियो । हामी घटना भएको केहीदिनमै एक जनालाई नियन्त्रणमा लिएपछि अन्य अभियुक्तलाई पक्रन सहज भयो, अन्तिम अभियुक्त बुधबार मात्रै पक्राउ गर्न सकिएपछि आज विवरण सार्वजनिक गरेका हौं’–प्रहरी प्रमुख पुरीले भने ।

शुक्रले घटना बारे योजना बनाएपछि सूर्यमान र बुद्धिमान इनड्राइभ लेखिएको ट्याक्सी चढेर चितवन आएका थिए । उनीहरु दुवै जना ट्याक्सी चालक समेत रहेको खुलेको छ ।

सुरुमै पक्राउ परेका शुक्र पहिले वृद्धकै घरमा डेरामा बस्थे । उनले सबै अवस्था बुझेपछि अन्य साथीहरुको सहयोगमा घटना गराएको प्रहरीको भनाई छ । उनीहरुले दोस्रो प्रयासमा लुटपाट र हत्या गर्न सफल भएको अनुसन्धानबाट खुलेको छ । ‘उनीहरुले घटना भएको दुई दिन अघि पनि प्रयास गरेको खुलेको छ, घर बाहिरबाटै ताला लगाएको देखेपछि उक्त दिन भित्र पस्न पसेन, २६ गते विहानै पसेर लुटपाट र हत्या गरे’–प्रहरी प्रमुख पुरीले भने ।

पोष्टमार्टम रिपोर्ट अनुसार लुटपाटको क्रममा बृद्धलाई घाँटी थिचेर हत्या गरिएको खुलेको चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनले पक्राउ परेकाहरु अन्य अपराधिक घटनामा पनि संलग्न हुन सक्ने देखिएकाले त्यतातर्फ पनि अनुसन्धान थालेको बताए । ‘हामी अरु जिल्लाहरुमा पनि बुझ्दै छौं, अन्य ठाउँमा पनि अपराधिक कार्यमा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका छौं’–प्रहरी प्रमुख पुरीले बताए ।

सुकमाया आफ्नै घर भित्रको कोठामा हात, खुट्टा र मुखमा कपडाले बाधिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोठा र दराज छरपस्ट अवस्थामा देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट पल्सर मोटरसाइकल, एउटा ट्याक्सी, मृतकको मोबाइल, मृतकले पैसा राखेको कपडाको पर्स र घटनामा संलग्नहरुको मोबाइल बरामद गरेको छ । मृतकका आफन्तले एक लाख नगद हराएको उल्लेख गरेका छन् ।
प्रहरीले अभियुक्त बारे पत्रकार सम्मेलन गर्दा पीडितहरु प्रहरी कार्यालय पुगेका थिए । मृतक सुकमायाका जेठा ज्वाई युवराज लामाले प्रहरीले छोटो समयमै सबै अपराधिलाई पक्राउ गर्न सफल भएकोमा प्रहरीलाई धन्यवाद दिए । ‘हामी सुरुदेखि नै अपराधि समात्न प्रहरीलाई दवाब दिदै आएका थियौं, २–२ दिनबाट फोनबाट जानकारी लिन्थ्यौं, प्रहरीबाट सधै सकरात्क सहयोग मिल्यो, अब उनीहरुलाई थप कानुनी कारवाही अगाडि बढोस्’–लामाले भने ।

कर्तव्य ज्यान, चोरी, डाका कसुर सम्बन्धि मुद्धा चलाइने

प्रहरीले पक्राउ परेका पाँच जनालाई नै कर्तव्य ज्यान, चोरी, डाका कसुर सम्बन्धि मुद्धा चलाउने भएको छ । मुलुकी अपराध संहिता उपदफा १ अनुसार ज्यान मारेकोमा जन्मकैदसम्म सजाय हुने भएकाले सोही अनुसार अघि बढाइने प्रहरीले जनाएको छ । डाका सजाय अनुसार ७ देखि १४ वर्षसम्म थप कैद सजाय माग गर्दै मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>