राजनीति
उमेदवारी मनोनयन गर्न जाँदा तडकभडक गरे कारबाही हुन्छ: निर्वाचन आयोग

काठमाडौं, माघ ५-
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उमेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।
सञ्चारकर्मीहरूसँग सोमबार आयोगमा कुराकानी गर्दै भण्डारीले उमेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानुनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न उनले सचेत गराए ।
आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने उनको चेतावनी छ ।
निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयनपत्र दाखिल गर्न उनले आग्रह गरे । “उमेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक हुन्छ । यो पूर्ण रूपमा कानुनले निषेध गरेको छ,“ भण्डारीले भने । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने बताए । निर्वाचन हुँदैन की भन्ने शंका नगर्न उनको आग्रह छ ।
























