राजनीति

कांग्रेसबाट एकल सिफारिस भएका पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश, कपिलवस्तु ३ बाट निर्वाचन लड्ने

Banner

रुपन्देही,माघ ३-

पूर्वमन्त्री तथा आगामी निर्वाचनमा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल उम्मेदार सिफारिस भएका कांग्रेस नेता बीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्। शनिबार दिउँसो काठमाण्डौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले सदस्यता ग्रहण गरेका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले नेता कनौडिया एमाले प्रवेश गरेको पुष्टि गरे ।

कांग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रबेश गरेको श्रोतको भनाइ छ । कांग्रेसको किचलोमा फस्नु भन्दा एमालेमा गएर राजनीति गर्नका लागि प्रवेश गरेको कनौडियाले निकटस्थहरुलाई बताएका छन् ।

यसअघिको लुम्बिनी प्रदेशसभामा उनी नेपाली कांग्रेस संसदीय दलको नेता रहेका थिए। संघीय सरकारमा पहिले नै मन्त्री बनेका कनौडिया लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नका लागि प्रदेश सभामा आएपनि अवसर पाएका थिएनन् । यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका उनले अन्तिम समयमा आएर फिर्ता गरेका थिए । कपिलवस्तु क्षेत्र नं ३ मा नेकपा एमालेबाट टिकटको ग्यारेन्टी गरिएको भनिएपनि एमाले नेताहरुले त्यसबारे कुनै निर्णय नभएको जनाएका छन् ।

एमाले कपिलवस्तुका इन्चार्ज रहेका केन्द्रीय सदस्य अधिकारीले टिकटको विषयमा टुंगो नलागेको दावी गरे । ‘अहिले उहाँ प्रवेश गरेको कुरा सत्य हो, टिकटको कुरा भएको छैन, जिम्मेवारी त पार्टीमा आएपछि केही न केही भइहाल्छ नि ।’ उनले भने । ०७९ सालको निर्वाचनमा पनि यो निर्वाचन क्षेत्रमा तराई केन्द्रीत दलका मंगलप्रसाद गुप्तालाई निर्वाचन अघि प्रवेश गराएर एमालेले जितेको थियो तर अहिले उनी बिरामी भएकाले उम्मेदार नहुने घोषणा गरिसकेका छन् ।

कांग्रेस क्षेत्रीय समितिबाट एकल उम्मेदार सिफारिस गराएका नेता कनौडियाको विरोधमा सोही क्षेत्रका नेता अभिषेक प्रताप शाहले आपत्ति जनाउँदै केन्द्रमा निवेदन दिएका थिए । कनौडियाले गगनको साथ छाडेर हस्ताक्षर फिर्ता लिएको सूचना पाएसँगै शाह गगनको पक्षमा खुलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>