चितवन विशेष
चितवनको सुहिसा कन्सल्टेन्सीका सञ्चालक शाह ठगी गरी फरार

चितवन, पुस २५–
चितवनको भरतपुर ओरालोमा रहेको सुहिसा कन्सल्टेन्सीका सञ्चालक ज्ञान प्रकाश शाह ठगी गरी फरार भएका छन्।
माडी नगरपालिका–२ घर भई हाल भरतपुर बस्दै आएका प्रकाश तिमिल्सिनामार्फत उनका आफन्तलाई जापानबाट आउने सस्तो टिकट काटिदिने भन्दै उनले प्रति व्यक्ति जनही ९५ हजारका दरले ११ जनाको रकम लिएर फरार भएका हुन् ।
‘अनलाइनमा टिकट बुक पनि भएको थियो, पछि उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्दा एजेन्सीमा पैसा समेत नतिरी क्रेडिट टिकट बुक गरिएको खुल्न आएको’–पीडित तिमिल्सिनाले भने । एजेन्सीले टिकट रद्द गरिसकेको छ भने जापानबाट आउने व्यक्तिहरू र उनीहरूका आफन्त ठगिएको थाहा पाउँदा चिन्तित भएर प्रश्न गरिरहेका छन् । आफन्तसहित गाउँलेहरूको टिकट बुक गरेका प्रकाश भने बिलखबन्दमा परेका छन्।
उनले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी समेत दिएका छन् । टिकट काटिएको क्याथे टुर्स एण्ड ट्राभलमा बुझेदा अन्य थुप्रै ठगिनेहरू समेत सम्पर्कमा आएको खुल्न आएको छ । पूर्वी नेपाल घर भई भरतपुरमा व्यवसाय गर्दै आएका ज्ञानप्रकाश शाह भने परिवारसहित फरार भएको र उनको मोबाइल र स्कुटर भने नियन्त्रणमा रहेको छ। प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ।
























