चितवन विशेष
श्री माध्यमिक विद्यालय ढड्डाघारीले सप्ताहव्यापी कार्यक्रम गर्दै वार्षिक उत्सव मनायो

भरतपुर,पुस २१-
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको श्री माध्यमिक विद्यालय ढड्डाघारीले ६२ औँ वार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गर्दै भव्यताका साथ शनिबार सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा विद्यालयले बृहत खुल्ला रक्तदान कार्यक्रम, वडा स्तरीय अन्तर (१–८) विद्यालय हाजिर जवाफ प्रतियोगिता, वडा स्तरीय अन्तर टोलविकास संस्थाहरुको हाजिर जवाफ प्रतियोगिता, विज्ञान गणित सामाजिक शैक्षिक प्रदर्शनी लगायत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम सहित वार्षिक उत्सव सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद सुवेदीले बताउनुभयो । ६९ जनाले रक्तदान गरेको तथा सातवटा टोल विकास संस्था र आठवटा स्कुलले हाजिर जवाफ प्रतियोगितामा भाग लिएको सुवेदीले बताउनुभयो । हाजिरी जवाफमा विद्यालयतर्फ विजय कोअपरेटिभ प्रथम, चितवन शिक्षा सदन दोस्रो र दुर्गा शेषकान्त तेस्रो तथा टोल विकास तर्फ पालुवाटोल विकास संस्था प्रथम, नविनचोक टोल विकास संस्था दोस्रो र शरणशीतल तेस्रो भएका छन ।
पहिलोपटक विद्यालयमा रक्तदान कार्यक्रम गरेको यस विद्यालयले १३ वर्षअघि गरेको धनधान्यान्चल तथा महायज्ञको दाताहरुलाई पनि यसै वार्षिक उत्सवद्वारा सम्मान तथा शिलालेखमा नाम लेखी कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री जगन्नाथ थपलियाद्वारा अनावरण गरिएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुदन नेपालीले बताउनुभयो । नेपालीका अनुसार १३ वर्षअघि २०६९ मा गरिएको धनधान्यञ्चलका ज्ञानमहायज्ञका दाताहरूलाई १३ वर्षपछि भएपनि सम्मानसहित शिलालेखमा नाम लेखी अनावरण गर्न पाउँदा आफू हर्षित भएको बताउनुहुन्छ । अध्यक्ष नेपाली भन्नुहुन्छ – ‘हामीले उक्त धनधान्यञ्चलमा सहयोग गर्ने दाताहरूमध्ये १ लाख १ रुपैयाँ भन्दा बढी सहयोग गर्ने दातालाई शिलालेखमा नाम सहित खादा लगायर सम्मान गरेका छौं भने २० हजार १ रूपैयाँ भन्दा माथि सहयोग गर्ने सहयोग दाताहरुको नाम शिलालेखमा उल्लेख गरेका छौँ । ढिलै भएपनि विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न पाउँदा म हर्षित छु । उक्त अवसरमा १ लाख १ रुपैयाँभन्दा माथि सहयोग गर्ने ४२ जना दाताहरुलाई सम्मान र शिलालेखमा नाम तथा ११७ जना दाताहरूको नाम शिलालेखमा समावेश गरिएको छ । विद्यालयको उन्नतिको लागि कोही दाताहरूको दान रकम बाँकी रहेको र अझै पनि सहयोग गर्न चाहेमा उहाँहरूको नाम शिलालेखमा समावेश गराउने तथा सम्मानको लागि विद्यालय परिवार तयार रहेको अध्यक्ष नेपालीको भनाइ छ । विद्यालयको शैक्षिक स्तर सुधार्न र विद्यालयको भौतिक विकासको लागि आफू अहोरात्र खटेको अध्यक्ष नेपालीले बताउनुभयो ।

यसै अवसरमा विद्यालयको कम्पाउन्डसहितको मूल गेटको पनि कार्यक्रमका प्रमुख अतिथि थपलियाबाट उद्घाटन गरिएको छ । प्रमुख अतिथि थपलियाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्नका लागि आफ्नो योगदान रहने र विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुपर्न बताउनुभयो । सोही कार्यक्रममा धनधान्यञ्चलका संयोजक रामचन्द्र थपलिया, हालका अध्यक्ष सुदन नेपाली तथा विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूलाई पनि सम्मान गरिएको थियो । त्यसै गरी कक्षा ८ र कक्षा १२ मा सवै भन्दा बढी जि.पि.ए. ल्याने बिषय शिक्षकलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न शीर्षकमा सौजन्य प्रदान गर्नुभएका दाताहरूलाई पनि विद्यालय परिवारले सम्मान गरेकोे थियो । पछिल्लो समय यस विद्यालयको शैक्षिक स्तर पनि सुधार हुँदै गएको छ । गत वर्षको एसइइमा यस विद्यालय महानगरपालिकाका सामुदायिक विद्यालयहरू मध्येबाट ८२ प्रतिशत सहित उत्कृष्ट पाँच भित्र पर्न सफल भएको थियो । यसै अवसरमा कक्षा १० का विषय शिक्षकहरूलाई एसइइमा विद्यालयलाई पाँचौं स्थानमा ल्याउन सफल गराएको भन्दै विद्यालयले सम्मान गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृतराज हमाल सहितका जनप्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तिहरूको आतिथ्यता रहेको कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक यमुना प्रकाश बरालले सहजीकरण गर्नुभएको थियो भने स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुदन नेपालीको अध्यक्षतामा सम्पन्न भयो ।

























