देश/प्रदेश
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

काठमाडौं, मंसिर १२ –
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका–२८ स्थित खसिबजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी टोलीले जाँच गर्दा आठ जनाले करिब ५६७ किलो बाख्रीको मासु बिक्रीका लागि राखेको पाइएको जनाएको छ । उनीहरूले मासु ढुवानीमा प्रयोग गरेका बा.५ ख ७६६० नम्बरको भ्यान र बा.२० च ६३४६ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा सिन्धुली, मुगु, ललितपुर, धादिङ, काभ्रेपलाञ्चोक र दोलखाका व्यक्तिहरू रहेका छन् । पक्राउ पर्नेमा दिलबहादुर मोक्तान, करण बानियाँ, मनोज थापा, सनम तामाङ, राजु लामा, टेकबहादुर तामाङ, निखिल उप्रेती र दिनेश महत छन् ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।



























