चितवन विशेष
चितवनमा दूधको लागत घटाउन किसानलाई प्रशिक्षण दिइदै

चितवन, पुस १७–
चितवनका दुग्ध किसानहरुलाई दूध उत्पादनको लागत घटाउन प्रशिक्षण दिन थालिएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले अगुवा किसानहरुलाई भेला गर्दै जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम दिन थालेको हो । हेफर प्रोजेक्ट नेपाल ललितपुरको आर्थिक सहयोगमा दुग्ध सहकारीको माध्यमबाट छुट्टाछुट्टै दुई दिने तालिम दिन थालिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव तथा विजय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कल्याण अधिकारीले जानकारी दिए ।
बिहीबारदेखि भरतपुर महानगरपालिका–१६ विजयनगरस्थित विजय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सभाहलमा दुई दिने तालिम सुरु गरिएको छ । यो तालिम यसअघि राप्ती, खैरहनी नगरपालिकामा पनि संचालन भइसकेको छ । जिल्लाका अन्य सहकारी संस्थाहरुमा पनि तालिमलाई निरन्तरता दिने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
























