चितवन विशेष

कसरा पर्यटन व्यवसायी र सिक्किमको पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध कायम

Banner

चितवन, मंसिर २०–

चितवनको भर्जिन पर्यटकीय क्षेत्र हो भरतपुरको पटिहानी । पटिहानी, कसरा, जगतपुर क्षेत्र अहिले विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रमा छ । यहाँका पर्यटन व्यवसायीहरु पनि पर्यटक तान्न विभिन्न प्रयासमा छन् । त्यही प्रयास स्वरुप छिमेकी राष्ट्र भारतको सिक्किम राज्यसंग यहाँका पर्यटन व्यवसायीहरु सहकार्य अघि बढाएका छन् । चितवनको पर्यटन विस्तारमा सघाउ पु¥याउन भन्दै कसरा पर्यटन व्यवसायी समिति र भारतको सिक्किम युनाइटेड अर्गनाइजेशन (सुटो) बीच भगिनी सम्बन्ध कायम गरिएको छ ।

पटिहानीमा आयोजित एक कार्यक्रमकाबीच भगिनी सम्बन्ध कायम गर्न दुई संस्थाबीच औपचारिक पत्रमा हस्ताक्षर गरिएको छ । ‘वारिपारिको सुमधुर पर्यटकीय सम्बन्ध’ भन्ने नाराका साथ भगिनी सम्बन्ध कायम गरिएको हो । समझादारी पत्रमा कसरा पर्यटन व्यवासायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किम पर्यटन व्यवसायीका अध्यक्ष गणेश शिवाकोटीले हस्ताक्षर गरे । ११ बुँदे उक्त समझदारी पत्रमा सहकार्य गर्न सकिने क्षेत्रहरु उल्लेख गरिएको छ । सुटोका अध्यक्ष शिवाकोटीले सिक्किमले नेपाल र चितवनबाट सिक्न चाहेको र पर्यटनको आफ्नो अनुभव साझा गर्ने विश्वास दिलाए । उनले ७ लाख जनसंख्या रहेको सिक्किमले वार्षिक १४ वर्ष पर्यटक भित्र्याउने गरेको भन्दै चितवनको पनि उत्तिकै संभावना रहेको औल्याए ।

‘पर्यटकहरुलाई आकर्षित गर्न र सहज बसाईका लागि सबै किसिमका व्यवस्थापन गरिदिँदा पर्यटक खुशी हुने गरेका छन्, सबै किसिमका व्यवसायीहरु एकआपसमा सहकार्य गर्दा उपलब्धि हासिल गर्न सकिन्छ’–अध्यक्ष शिवाकोटीले भने ।
उनले यहाँ चितवन राष्ट्रिय निकुञ्ज भएजस्तै सिक्किममा पनि कञ्चनजंघा राष्ट्रिय निकुञ्ज रहेको भन्दै सहकार्य गरेर अघि बढ्दा दुवै पक्षलाई फाइदा पुग्ने बताए । चितवनको संभावना बारे जानकारी दिँदै कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष पाण्डेले सिक्किमसंगको सहकार्यले पर्यटन प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गरे । उनले वार्षिक रुपमा नेपाल–सिक्किम टुरिजम सममिट गर्न सकिने भन्दै यसबाट दुई देशका पर्यटन व्यवसायीले लाभ लिन सक्ने बताए ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोले सिक्किमसंगको सहकार्यले यहाँको पर्यटन क्षेत्रलाई लाभ मिल्नेमा विश्वास व्यक्त गरे । उनले लामो समयको प्रयासपछि यो सहकार्य भएकोमा खुशी व्यक्त गर्दै सिक्किम भन्दा केही फरक विशेषता भएको चितवनमा पर्यटनको प्रचुर संभावना रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले यो सहकार्यलाई सहयोग गर्न आफू सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।

चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरा आडको पटिहानी, कसरा र जगतपुर क्षेत्रका पर्यटकीय होटल कसरा यर्यटन व्यवसायी समितिमा आबद्ध छन् । त्यसैगरी सिक्किम टुरिजम अर्गनाइजेसनमा सिक्किमका सबै ६ जिल्लाका पर्यटन व्यवसायी सामेल भएको अध्यक्ष गणेश शिवाकोटीले बताए ।

कार्यक्रममा भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडी, चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन अविनाश थापा मगर, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे, पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>