Breaking News
म किसान-मजदुरको छोरा हुँ , प्रधानमन्त्री बन्ने रुचि छैनः प्रचण्ड

धादिङ,मंसिर १०-
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधैँ काम गर्ने बताएका छन् । बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै उनले आफू किसान मजदुरको छोरा रहेको बताए । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफू प्रभावित भएको बताउँदै प्रचण्डले भने, म भगवान होइन । तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ । तै पनि कृष्ण थपलिया जीले मलाई जुन रूपमा प्रस्तुत गर्नुभयो, उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु ।
समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भने, मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन । उनले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए ।
सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रूपमा गरेको प्रयास र लगानी जुटाउने कोसिसको स्मरण गरे । उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताए ।
प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताए । ९० प्रतिशत घरधुरी विद्युत् पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उनको धारणा थियो ।


























