चितवन विशेष
चितवनमा घट्न सकेन प्रकोप तथा महामारीजन्य रोगको जोखिम

चितवन,मंसिर ८-
चितवनमा प्रकोप तथा महामारीजन्य रोगको जोखिम घट्न सकेको छैन। अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजनरसंक्रमण) को जोखिम घट्न नसकेको हो।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक महिनामा मात्र स्क्रब टाइफसका ७४, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका ५०, डेंगीका ३२ र पेट तथा आन्द्राको संक्रमणका कारण ३० जना बिरामी परेका छन्। पछिल्लो तीन वर्षमा यहाँ स्क्रब टाइफसका १ हजार ६२९ जना बिरामी भेटिएका छन्। सोही अवधिमा गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण १ हजार १८५ जना, डेंगीका २ हजार ५३६ र पेटको र आन्द्रामा हुने सुजन संक्रमणका कारण १ हजार ४०९ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले मासिक रुपमा प्रकोप तथा महामारी निगरानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। कात्तिक महिनाको बुलेटिनमा सबैभन्दा धेरै बिरामी पर्ने रोगमा स्क्रब टाइफस नै छ। यस वर्षको साउनमा ६८, भदौमा ९५, असोजमा ११७ र कात्तिकमा ७४ जनामा संक्रमण देखिएको छ। यसले पनि चितवन स्क्रब टाइफसको संक्रमणको जोखिममा रहेको देखाउँछ। मनसुनको समयमा जस्तै साउन, भदौ, असोज महिनामा स्क्रब टाइफस फैलाउने किट बढी सक्रिय हुने र खेतीपातीमा काम गर्दा संक्रमणको जोखिम बढ्ने भएकाले जोखिम हुने गरेको जनस्वास्थ्य अधिकृत अंशु पोखरेलले बताइन्।
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण यस वर्ष १३९ जना बिरामी परेका छन्। चितवनमा मौसम अनुसार सक्रिय हुने भाइरसहरुको कारण वर्षभरी बिरामीको संख्यामा उतार चढाव देखिन्छ। जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ। गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण साउनमा १८, भदौमा ४६, असोजमा २५ र कात्तिकमा ५० जनामा संक्रमण देखिएको छ।
एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेटको र आन्द्रामा हुने सुजन संक्रमण) कारण यस वर्षको साउनमा ५९, भदौमा ७४, असोजमा ४१ र कात्तिकमा ३० जना बिरामी परेका छन्। सोही अवधिमा साउनमा २८, भदौमा २८, असोजमा ३४ र कात्तिकमा ३२ जनामा डेंगी संक्रमण देखिएको छ। यस्तै, चितवनमा हालसम्म १० महिला र ७ पुरुष गरी १७ जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। ६ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भेटिएको कार्यालयले जनाएको छ। खैरहनी नगरपालिकामा ४, राप्ती र कालिका नगरपालिकामा २र२ जना, माडी र रत्नगर नगरपालिका १र१ जनामा संक्रमण पुष्टि भएको हो। इच्छाकामना गाउँपालिकामा भने भेटिएको छैन।
हाल चितवनमा डेंगी भन्दा स्क्रब टाइफसको संक्रमण बढी देखिएको जनस्वास्थ्य अधिकृत पोखरेलले बताइन्। प्रकोप तथा महामारीजन्य रोगको नियन्त्रणका लागि निरन्तर निगरानी गरिएको, र्यापिड रेस्पोन्ट टिम (आरआरटी) परिचालन गरिएको, टेष्ट किटहरुको आपूर्ती, नमुना ढुवानी तथा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, बिरामीको उपचार गरिएको कार्यालयले जनाएको छ।
























