देश/प्रदेश

खेतीहर मजदुर नहुँदा धान थनकाउन किसानलाई सकस

Banner

महोत्तरी, कात्तिक २१-

महोत्तरीका किसान यतिखेर गत साताको वर्षाले निहिनमै भिजाएको धान सुकाउने, चुट्ने (दाइँ गर्ने) र थन्क्याउने चटारोमा छन् । कतिपयको धान काट्ने बेला हुँदैछ । यसैगरी अहिले नै हिउँदे बाली लगाउने तयारीले छोपेको छ । गहुँ, दलहन र तेलहन बाली लगाउने बेलाले छोपेको छ । यस्तै आलु लगाउन र बहुबाली लिन चाँडै रोपिने उखुको चटारो छ । कामैकामले छोपेका बेला यहाँका किसान भने कृषि कामका श्रमिक (खेतीहर मजदुर) नपाउँदा विरक्तिएका छन् ।

“पाँच दिनको लगातारको बेमौसमी वर्षा थामिएको पनि चार दिन नाघिसकेको छ, वर्षाले निहिनमै भिजाएको धान पल्टाउने, सुकाउने, सुकेको समेट्ने र दाइँ गर्न भ्याइएको छैन, बस्तीमा खेतीका कामदार भेटिदैनन्, अब कसरी खेती गर्ने होला ?” बर्दिबास–२ बारनचौडीकी किसान तुलसा उपाध्याय भन्नुहुन्छ, “धान थन्क्याउन पाइएको छैन, हिउँदेबाली लगाउन तयारी यसैबेला गर्नुछ, वरपर कृषि श्रमिक भेटिँदैनन्, खै खेती धान्न सकिएलाजस्तो लाग्न छाड्यो ।”

भर्खरै लगालगी महत्त्वपूर्ण चाडबाड सकेपछि धान थन्क्याउने तयारी गरिरहँदा किसानलाई पछिल्लो साता बेमौसमी वर्षाले दुःख दियो । अहिले अब वर्षाअघि काटेर निहिनमा सुकाएको धान समेट्ने धमाधम छ । अगौटे धान कतिले वर्षाअघि काटेर चुट्ने÷दाइँ गर्ने सकेका छन् । कतै काटेर निहिनमा सुकाइँदा भिजेको धान अहिले पानी थामिएयता दिनहुँ ओल्टाइपल्टाइ गर्नुपरेको छ । अलि पछौटे धान खेतमा पहेँलपुर बालामा झुलिरहेको छ । अब काट्ने सुरसार हुँदैछ । धान काटेर खाली भएको खेत खनजोत गरेर हिउँदे बाली लगाउने तयारीको बेला छ । तर अहिले ९मजदुर नपाइँदा कुनै काम सोचे जसरी समयमा गर्न नपाएको किसान बताउँछन् ।

“यसपालि धान रोप्ने बेला खडेरी, निकै दुःखले रोपिएको धान दसैँताकाको वर्षासँगैको बाढी र डुबानमा पर्यो, अहिले धान थन्क्याउने बेला नचाहिँदो पानी परेर हण्डर दियो”, भङ्गाहा–९ हरिहरपुरहरिनमरीको सखुवाटोलका किसान बद्री यादव भन्नुहुन्छ, “अब खेतमै सुकाउँदा भिजेका पाँजा (निहिन) स्याहार्नै धौधौ छ, पाँजामै भिजेर उम्रेको धान देखेर मन थाम्न सकिन्न, गाउँघरमा जन पाइन्नन्, अब खेती गाह्रो छ ।” अबलगत्तै हिउँदेबाली कसरी लगाउने भन्ने चिन्ताले पिरोलेको उहाँको भनाइ छ ।

कामैकामको धमाधमको बेला छ । यस्तै बेला अतिरिक्त जनको आवश्यकता पर्दा मान्छे नपाएपछि खेतीपातीका कामले दिक्क हुन थालिएको किसान बताउँछन् । “हेर्नोस् न, खेतीपातीका कामले थिचेको बेला छ, जन मजदुर पाइँदैनन्, यो खेतीपाती पनि नगर्दा भोकै परिने गर्दा हत्ते हुइँने”, दिक्क हुँदै गौशाला–९ डुमरवानाका किसान शिवकरण राय भन्नुहुन्छ, “हामी किसानले कहिल्यै सुखसन्तोष भन्ने नपाउने भयौँ ।”

जिल्लाका गाउँनगर बस्तीमा खेतीपातीका काम जान्ने कृषि जनशक्ति कामकै लागि भारतका पञ्जाव र हरियाणा गएपछि यहाँ जनको अभाव भएको हो । खेतीपातीका काममा पोख्त मानिने मुसहर, बाँतर जाति समुदायका काम गर्नसक्ने उमेरदारी जति सबै पञ्जाव र हरियाणा गएका छन् । यी समुदायको बसोबासका बस्ती पस्दा अचेल हिँडडुल गर्न नसक्ने बूढाबूढी, महिला र ससाना भुराभुरीमात्र भेटिन्छन् । खेतीपातीका काम आफ्नै ठाउँमा पाइए पनि यहाँ पाइने बनी (पारिश्रमिक)ले घरपरिवार धान्न नसक्ने भएपछि हुर्केका किशोर (१५–१९ वर्ष) र युवा भारत जाने गरेका यहाँको थिति नै बसेको छ ।

खेतीपातीका काम जान्ने यहाँको युवा जनशक्ति भारतको पञ्जाव र हरियाणमा पसिना बगाउँदैछन् । थोरतिन जग्गा भएका किसानका छोरा साहुसँग महँगो ब्याजको ऋण काढेर अरब कतार पुगेका छन् । काम गर्ने उमेरका युवा विदेश गएपछि यहाँ खेतीपाती गर्न जनशक्ति घटेको छ । काम गर्ने मान्छे नपाएपछि अब किसान दिनदिनै खेती घटाउन बाध्य हुँदैछन् । यो अवस्थाले खेती धान्ने दिन सकिँदै गएको भङ्गाहा–६ हतिसर्वाको मदनपट्टी बस्तीका किसान राजनारायण राय थारू बताउनुहुन्छ ।

“दुई दशकअघि मेरै गोठमा तीन हल गोरु थिए, आफैँ आठ–दश बिघा खेती गरिन्थ्यो”, थारू भन्नुहुन्छ, “अब हेर्नोस्, गोठ रित्तो छ ।” यहाँका कृषि श्रमिक विदेशिने क्रम नरोकिए अब केही वर्षपछि जताततै पर्ति जग्गा देखिने थारूको चिन्ता छ ।

जिल्लामा ७१ हजार हेक्टर कृषियोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ । बर्सेनि खेतीपातीमा अनुकूल नहुँदा आठ–दश हजार हेक्टरमा किसानले पालो बाली लगाउन पाउँदैनन् । उखु, रहरीसहितका बाली वर्षभरि लाग्ने भए पनि धेरैजसो जग्गा दुई–तीन बाली लगाउन मिल्ने छन् । तर खासमा जनशक्तिकै अभावले एउटा बालीपछिको अर्को बाली लगाउन छाडिएको भङ्गाहा–३ कटैयाकी ६० वर्षीया किसान रामराजी यादवको भनाइ छ ।

खेतीपाती गर्न बीउ, मलखाद समयमा नपाइने, सिँचाइको प्रबन्ध नहुनु, किसानले चाहिएको बेला सजिलोसँग दुई–चार पैसा ऋण नपाउने भएपछि जाँगर मर्न थालेको किसानको भनाइ छ । पछिल्ला वर्षहरूमा जनसमेत पाउन छाडिएपछि अब खेती गर्न आफ्नै परिवारको भरले मात्र गर्न सकिने गौशाला–११ का किसान लक्ष्मी महतो बताउनुहुन्छ ।

यो प्रतिकूलता हटाउन सरकारले किसानलाई ठिक समयमा बीउ, मलखाद, प्राविधिक सल्लाह र सुलभ खेती ऋणसँगै भारत जाने श्रमिकलाई यहीँ काम र दामको आकर्षण दिनसकेमात्र खेती थाम्न सकिने यहाँका किसान बताउँछन् । मुख्य रूपले स्थानीय सरकारले यसको तत्परता लिनुपर्ने यहाँका किसानको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>