Breaking News
रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक भोलिदेखि सौराहामा, तयारी पूरा

चितवन, कार्तिक २०–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक भोलिदेखि चितवनमा सुरु हुँदैछ ।
सौराहास्थित सभाहलमा हुने बैठकको सम्पूर्ण तयारी पुरा भइसकेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, आगामि निर्वाचनका लागि उपसभापति स्वर्णीय वाग्लले वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए । ‘बैठकमा प्रस्तावनाहरु पेश भएपछि छलफलको लागि समय दिन्छौं, छलफलमा सबैले आ–आफ्ना कुरा राख्न पाउनु हुनेछ, कसैलाई बन्देज छैन’–प्रवक्ता झाले भने ।
बैठकमा पार्टी भित्र नयाँ नेतृत्वको विषयमा पनि छलफल हुने बताईएको छ । यस्तै आगामि निर्वाचन र पार्टीको महाधिवेशनको विषयमा पनि बैठकले निर्णय गर्ने प्रवक्ता झाले जानकारी दिए । ‘महाधिवेशन तोकिकै बेला निर्वाचन हुने भएकाले सुरक्षा चुनौति लगायतका संभावना बारे छलफल गर्छौ, महाधिवेशन सार्ने वा नसार्ने बारे उपयुक्त निर्णय बैठकले गर्नेछ’–झाले भने । रास्वपाले यसअघि फागनुमै चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेपछि महाधिवेशन बारे रास्वपाले अर्को निर्णय गर्न लागेको हो । बैठकमा केन्द्रीय समिति, निर्वाचन क्षेत्र समिति संयोजक, निर्वाचन भइसकेका स्थानीय पालिका संयोजक, जिल्ला संयोजक, प्रदेश सचिवालय पदाधिकारी, प्रदेश विभागका पदाधिकारीलगायतका गरी ५१२ जनाको सहभागिता रहने केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए ।
चितवन क्षेत्र नं.१ का निवर्तमान सांसद एवं रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले चितवन नै पार्टी स्थापनाको महत्वपूर्ण जिल्ला भएकाले यहाँ नै विस्तारित बैठक हुन लागेको बताए । उनले यस बैठकले पार्टीलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए । यस्तै ढकालले कसैले पार्टी झोडेर जाँदैमा केही फरक नपर्ने संकेत गर्दै नयाँ सदस्यहरु भित्रिने क्रम उत्तिकै बढेको बताए । ‘अगाडि हामी ९ जना उभिएका छौं भने हाम्रा पछाडी सयौं उभिएका छन्, अगाडि उभिएका एक जना नहुँदा केही फरक पर्दैन’–ढकालले सुमना श्रेष्ठ प्रति कटाक्ष गर्दै भने ।
बैठकमा सहभागि हुनेहरुलाई आफैले शुल्क तिर्ने गरी सौराहामा बस्ने व्यवस्था मिलाईएको जिल्ला सभापति कृष्ण भुषालले जानकारी दिए । उनले बैठकमा सहभागि हुनेका लागि रु.१५ सय प्रतिनिधि शुल्क तोकिएको बताए । पार्टीले विभिन्न क्याटेगोरीमा होटल व्यवस्थापन गरे पनि शुल्क आफै प्रतिनिधले तिर्नुपर्ने भुषालले बताए ।
























