देश/प्रदेश

छ सय वर्षदेखिको इतिहासको साक्षी झुप्राङकोट

Banner

गण्डकी, कात्तिक १६-

ऐतिहासिक एवं धार्मिक महत्वको झुप्राङकोट मन्दिर जहाँ रहेको शिलालाई प्राचीनकालदेखि देवीका रुपमा पूजाआजा गरिँदै आइएको छ । मन्दिर परिसर क्षेत्रबाट उत्तरपूर्वतर्फ चाँदी जस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला त दक्षिण पश्चिमतर्फ पर्यटन राजधानी पोखराको मुख्यबजार क्षेत्रसहितका दृश्य एकैठाउँबाट नियाल्न सकिने हुँदा यहाँ आउने जो कोही लोभिने गरेका छन् ।

नेपालका बाइसेचौबिसे राजाहरूको पालादेखिको इतिहास झुप्राङकोटसँग जोडिनुले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । इतिहासविद् ठाकुरप्रसाद त्रिपाठीका अनुसार १५औँ शताब्दीमा तत्कालीन कास्कीकोटका राजा कुलमण्डन शाहका छोरा विदुरजी शाहलाई झुप्राङकोटको मुख्तियारी दिइएको थियो । देब्रे शाहका रुपमा चिनिने उहाँ समयसमयमा त्यहाँ गएर बस्ने गरेको पाइन्छ । विदुरजी शाह पछि त्यहाँको मुख्तियारी आचार्य तथा गुरुङहरूलाई दिइएको थियो । यी विषयलाई आफ्नो पुस्तक नेपाल एकीकरणको जग कास्की राज्यको इतिहासमा लिपिबद्ध गरिएको उहाँले जानकारी दिनुभयो ।

एउटा किंवदन्तीअनुसार उक्त स्थानमा प्राचीनकालमा दुुई जना झुमा बसेर सिद्धी प्राप्त भएकाले यस ठाउँलाई झुमाकोट हुँदै झुप्राङकोट भनिएको हो । त्यस्तै अर्को किंवदन्तीअनुसार झोमा नाम गरेका व्यक्तिले यहाँको मुख्तियारी पाएर बसेको र झोमा कोट हुँदै झुप्राङकोट भनिएको उल्लेख छ ।

तत्कालीन कास्की राज्यको सुरक्षाका लागि पनि यो विशेष महत्वको रहेको बताउँदै त्रिपाठीले त्यस बेलाका लमजुुङ राज्यलगायतबाट हुनसक्ने सुरक्षा खतरालाई रोक्नका लागि पनि यो कोट बनाइको हुनसक्ने उहाँले बताउनुभयो । यहाँ नजिकै रहेका सैनिकको परेड खेल्ने मैदान, बङ्कर आदिले यहाँको इतिहासलाई थप प्रष्ट पार्ने उहाँको भनाइ छ ।

धार्मिक महत्वको यस कोटका लागि विभिन्न जातजाति र जिम्मेवारीअनुसार गुठी जग्गाको व्यवस्था गरिएको बताउँदै उहाँले यो यस क्षेत्रकै महत्वपूर्ण शक्तिपीठका रुपमा समेत रहेको जानकारी दिनुुभयो । मनले चिताएको पुग्ने विश्वासका साथ यस आसपासका गाउँबाट सर्वसाधारण यहाँ श्रद्धाभक्तिपूर्वक पूजाआजाका लागि जाने गरेका छन् ।

यस क्षेत्रमा पाइने औषधिजन्य वनस्पतिबाट औषधि तयार गरी तत्कालीन अन्य राज्यमा पुर्‍याइने गरेको र यहाँको औषधि दिल्लीका सम्राटको दरबारमा पुग्ने गरेको किंवदन्ती रहेको उहाँले जानकारी दिनुभयो ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका यस्ता कोटको संरक्षण अपरिहार्य भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रमेशराज पौडेल बताउनुहुन्छ । यस्ता ऐतिहासक सम्पदाको संरक्षणका लागि सरोकारवाला सबैको समन्वय हुनपर्नेमा उहाँले जोड दिनुभयो ।

साविक अर्मला–४ मा रहेको यो ठाउँ हाल पोखरा महानगरपालिका–१६ को उत्तरी क्षेत्रमा रहेको छ । यो स्थल समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको छ । यहाँको पर्यटकीय विकासका लागि चरणबद्ध रुपमा विभिन्न प्रयास भएका छन् । विसं २०७४ मा गर्लाङ र आसपासका क्षेत्रको पर्यटकीय विकासलाई लक्षित गरी यससँग जोडिएका झुप्राङकोटलगायत स्थानलाई समेटेर अघि बढ्ने प्रयास गरिएको झुप्राङकोट बहुउद्देश्यीय विकास समितिका अध्यक्ष तीर्थ गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसयता यहाँको विकासका लागि चरणबद्ध प्रयास भएका छन् । यो समिति समाज कल्याण परिषद्मा दर्ता भई कार्य गर्दै आएको छ । “हामी यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन र विकासका लागि निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रचुर पर्यटकीय सम्भावना भएर पनि यहाँ सम्भावनालाई उजागर गर्न नसकिएका अवस्थामा यसको प्रवर्द्धन र विकासले पर्यटनमा धेरै उपलब्धि हासिल हुनसक्ने हाम्रो विश्वास छ ।”

झुप्राङकोट धेरै पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले सबैको सकारात्मक सोच र प्रयासबाट यहाँको पर्यटकीय उपयोग गर्न सकिने अर्का समाजसेवी केशरबहादुर गुरुङको भनाइ छ । प्राकृतिक दृश्यावलोकनसँगै यस क्षेत्रलाई पदयात्रा पर्यटनसँग जोड्नसकेमा त्यसले झुप्राङकोटसँगै आसपासका गन्तव्यको प्रवर्द्धन र विकासमा पनि विशेष टेवा पुुग्ने पर्यटन अभियन्ता टङ्क सुवेदीले बताउनुभयो । पछिल्लो समयमा यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि स्थानीय जागरुकतासँगै पर्यटन सम्बद्ध निकायको साथ र सहयोग बढिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुुसार झुप्राङकोट जाने सिँढीबाटोका लागि गत वर्ष गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन भई काम सम्पन्न भइसकेको छ । यस बजेटबाट यहाँस्थित थलाए गौँडाबाट द्वारेगौँडा र कैले पहराबाट झुुप्राङकोटसम्म कूल ७०० सिँढी राखिएको छ । यस आर्थिक वर्षमा पनि यहाँका लागि विभिन्न निकायबाट बजेट विनियोजन भएको जानकारी दिँदै सुवेदीले पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्डबाट रु २० लाख र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशबाट रु १० लाख विनियोजन भएको छ ।

त्यस्तै यहाँको विस्तृत गुरुयोजना निर्माणका लागि पोखरा महानगरपालिकाले रु १६ लाख विनियोजन गरेको छ भने पुरातात्विक अध्ययनका लागि पुरातत्व विभागले रु चार लाख विनियोजन गरेको सुवेदीले जानकारी दिनुुभयो । यहाँबाट नागीडाँडा, ताराहिल टप, सिक्लेस, कपुचे लेक हुँदै ताङ्तिङसम्म पदयात्रा गर्न सकिने जानकारी दिँदै उहाँले पहिलो दिन झुप्राङकोट बेस क्याम्पमा, दोस्रो दिन नागिडाँडा क्षेत्रमा, तेस्रो दिन सिक्लेस र चौथो दिन ताङ्तिङमा बास बस्न सकिने बताउनुभयो ।

यसअघि २०७८ साल पुसमा यहाँका घार्मी ढिकीडाँडा झुप्राङकोटलगायत स्थानलाई समेटेर एकदिने पदयात्रा प्रवर्द्धन कार्यक्रम गरिएको घार्मी डिकीडाँडा झुप्राङकोट नागीडाँडा सिक्लेश पर्यटन पदमार्ग तथा स्थानीय पर्यटन समितिका अध्यक्ष वासुदेव तिमिल्सनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार झुप्राङकोटबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि हिमशृङ्खलासँगै पोखरा उपत्यका, पञ्चासे संरक्षण क्षेत्रका साथै मनोरम प्राकृतिक वातावरण नियाल्न सकिन्छ । प्राचीनकालमा यहाँ थुप्रै गोठ रहे पनि अहिले भने गोठ हराउँदै गएको बताउँदै उहाँले धेरै पर्यटकीय सम्भावना रहेर पनि यसको उजागर हुन नसकेको धारणा राख्नुभयो । विगतमा पनि पोखरालगायत स्थानबाट मानिस बस्ने र खाने खर्चको व्यवस्थापन गरी चित्रा÷भकारीको गोठ बनाई यहाँ आएर प्रकृतिसँग रमाउने गरेको उहाँको भनाइ छ ।

यहाँबाट उत्तरतर्फ हेर्दा माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमचुचुरा र अन्नपूर्ण हिमालमा धानको रास र पाथीले मानिस निहुरिएर धान भर्दै गरेको दृश्य प्रष्ट रुपमा देखिने बताउँदै उहाँले माथि हिमशिखर तल बुकी क्षेत्रसँगै हरियाली वन जङ्गलले ढाकिएका कारण पर्यापर्यटनका दृष्टिले पनि यहाँको उत्तिकै महत्व रहेको बताउनुभयो ।

सूर्योदयमा चाँदी झैँ टल्कने र सूर्यास्तमा सुन झैँ टल्कने हिमालको दृश्यसँगै यहाँबाट पश्चिमतर्फ माछापुच्छ«े गाउँपालिकाका भुर्जुङखोला, धिप्राङ, घाचोक, लाहाचोक, ल्वाङ, रिवान, धिताल अस्ताम, एबिसी बेसक्याम्प, अष्ट्रेलियन बेसक्याम्प आदि देख्न सकिन्छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाका ढिकुरपोखरी, लुम्ले, पञ्चासे, कास्कीकोट आदि क्षेत्र पनि एकसाथ अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

दक्षिणतर्फ पोखरा महानगरको मौजा, काहुँ धरहरा, फेवाताल, शान्तिस्तूप, पुम्दीकोट शिव मूर्ति, कान्छीकोट, सराङकोट, पोखराको निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललगायत क्षेत्रका साथै स्याङ्जाका विभिन्न भागसमेत देख्न सकिन्छ भने पूर्वमा चोकोडाँडा, अर्मलाकोट, तनहुँका भाग तथा लमजुङका हरियाली डाँडाहरू देखिन्छ ।

हिउँदको समयमा ढकमक्क फुल्ने लालीगुराँस, सेतो फुल्ने चिमलो र अन्य रङ्गीविरङ्गी वासनादार सुगन्धित फूलका बास्ना यहाँका अन्य आकर्षण हुन् । हिउँदमा नै बन सप्सी, कुभिण्डो, मिठीफल, वैशाख÷जेठमा गुहेली, ऐँसेलु, चुत्रो, हिउँदमा कुरिलो, वैशाख जेठमा टुसा, निउरो, हलहलेको साग आदि पाउन सकिन्छ । जडीबुटीको खानी यस क्षेत्रमा निरमसी, गुँदरगानो, तोते, सतुवा पखनबेद, बाटुलपाते, दैचाम्लेलगायत जडीबुटी पाइन्छन् ।

चरा पर्यटनको पनि प्रचुर सम्भावना रहेको यहाँ यहाँ विभिन्न प्रकारका चराचुरङ्गी पाइन्छन् । यस क्षेत्रमा कालिज, जुरेली, कोकले, भ्याकुर, डाँफे, मुनाल मालुवाका बथान, चिल, काग, काल्चेलगायत चरा पाइन्छ भने वन्यजन्तुमा बाघ, स्याल, चितुवा, घोरल, मृग, झारल, ब्वाँसो, मलसाप्रो आदि पाइन्छन् । पर्यटन अभियन्ता सुवेदीका अनुसार पर्यटकलाई लक्षित गरी अझै विभिन्न पूर्वाधार विकास अपरिहार्य रहेको यस स्थानमा हाल स्थानीय युवा लीलाबहादुर गुरुङले ‘टि हाउस’ खोल्नुभएको छ । हालका लागि झुप्राङकोट जाने पर्यटकका लागि हर्पाक या गर्लाङमा बस्नुपर्ने बाध्यता छ ।

गर्लाङ वा हर्पाकबाट आधा घण्टा हिँडेमा आलेबारी पुगिन्छ भने त्यहाँबाट करिब डेढ घण्टामा झुप्राङकोट पुग्न सकिन्छ । यहाँ जानका लागि पोखराबाट लामाचौर वा बाटुलेचौर हुँदै अमलाबिसौनी पुग्नुपर्छ । त्यहाँबाट घार्मी, कुरेचौर हुँदै आलेबारीसम्म सवारीसाधनमा पुगी त्यहाँबाट डेढ घण्टामा झुप्राङकोटमा पुग्न सकिने उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>