देश/प्रदेश

कोशी अस्पतालको पोषण पुनःस्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त

Banner

विराटनगर, कात्तिक १४ –

कुपोषित बालबालिकाको स्वास्थ्य पुनःस्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पु¥याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ ।

दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनःस्थापना केन्द्रबाट एक हजार ८७२ कुपोषित बालबालिकाले उक्त सेवा लिइसकेका छन् ।

अस्पतलकी मेडिकल सुपरिटेन्डेन डा रुणा झा अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रको उद्देश्य कुपोषित बालबालिकाको स्वास्थ्य पुनःस्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउनु रहेको बताउनुहुन्छ । केन्द्रमा भर्ना भएका बालबालिकालाई चिकित्सकको निगरानीमा सन्तुलित आहार, उपचार र आवश्यक परामर्श प्रदान गरिन्छ । साथै, बालबालिकाको हेरचाहमा संलग्न आमा वा अभिभावकलाई पोषिलो खाना पकाउने, खुवाउने र सरसफाइका व्यवहारबारे व्यावहारिक प्रशिक्षण दिइन्छ ।

“पोषण पुनःस्थापना गृहले बालबालिकाको जीवन मात्र होइन, भविष्य पनि जोगाइरहेको छ, यसले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको छ”, मेसु डा झा भन्नुहुन्छ, “कुपोषणले बालबालिकाको शरीर मात्र होइन, मानसिक विकासमा पनि असर पार्ने हुँदा समयमा नै उपचार र पोषणको सचेतता अत्यावश्यक छ ।”
पोषण पुनःस्थापना केन्द्रको मापदण्डअनुसार कुपोषण भएका बालबालिका उपचारका लागि अस्पताल ल्याएमा अभिभावकसँग परामर्श गरेर तुरुन्त भर्ना गराई उपचार सुरु गरिने मेसु झाले बताउनुभयो । उहाँले प्रदेशका जुनसुकै ठाउँबाट आएका शीघ्र कुपोषणमा बालबालिकालाई पनि भर्ना गरी एक अभिभावकको साथैमा निःशुल्क उपचार गरिने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का अनुसार बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास दुई वर्षभित्र हुन्छ । त्यस उमेरमा पर्याप्त पोषण नपुग्ने हो भने बालबालिकाको भविष्य नै जोखिममा पर्छ । नेपालमा कुपोषणको दर केही घट्दो क्रममा छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार कुपोषणका कारण हुने पुड्कोपनको दर घटेर २५ प्रतिशतमा झरेको छ, जुन पाँच वर्षअघि ३६ प्रतिशत थियो ।

केन्द्रकी नर्सिङ इन्चार्ज चन्द्रकला सापकोटा उक्त केन्द्रमा विपन्न परिवारका कुपोषित बालबालिका मात्र होइन, सम्पन्न परिवारका बालबालिका पनि आउने गरेको बताउनुहुन्छ । “जङ्कफुडका कारण बालबालिका कुपोषित हुने गर्छन्, कतिपयले खाना नपाएर कुपोषित हुनुपरेको छ, यिनै समस्याबीचमा हामी काम गरिरहेका छौँ,” उहा भन्नुहुन्छ, “आशै मारिसकेका बालबालिकालाई पनि स्वस्थ बनाएर पठाएका छौँ ।”

केन्द्रमा भर्ना भएका बालबालिकामध्ये अधिकांशले सुधार देखाएर घर फर्किने गरेका छन् । “यहाँ भर्ना भएका सबै बालबालिका राम्रोसँग निको भएरै गएका छन्,” इन्चार्ज सापकोटाले भन्नुभयो, “हामी आमाबाबुलाई पनि पोषिलो खाना कसरी पकाउने र खुवाउने भनेर व्यावहारिक सल्लाह दिन्छौँ ।”

केन्द्रकी पोषणविद् जेनिशा दाहाल केन्द्रमा आएका कतिपय बालबालिकाको कुपोषणका कारण केवल खान नपाएर मात्र होइन, खान नजानेर पनि समस्या देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुपोषण भनेको खाना नपाउनु मात्र होइन, खान नजान्नु पनि हो ।” उहाँका अनुसार हरियो सागपात, फलफूल, अण्डा, माछा–मासु खान सक्ने अवस्था हुँदाहुँदै पनि गलत खाने बानीका कारण पोषणको समस्या देखिन्छ ।

“सहरमा जङ्कफुडको बढी प्रयोग र गाउँमा पौष्टिक खानेकुरा नपुग्ने अवस्थाले समस्या बढाएको छ,” उहाँ भन्नुहुन्छ, “जब एक आमा बुझ्छिन्, तब उनको बच्चा मात्र होइन, सिङ्गो परिवार स्वस्थ बन्छ । त्यसैले हामी अभिभावकलाई घरमै प्रयोग हुने खानेकुराबाट पोषिलो खाना बनाउन सिकाउँछौँ ।”

हरिया सागपात, फलफूल, अण्डा र माछामासु खान सक्ने अवस्था हुँदाहुँदै पनि गलत खानेकुरा खाने बानीका कारण बालबालिकामा पोषणको कमी हुने गरेको छ । सहरमा जङ्कफुडको बढी प्रयोग र गाउँमा पौष्टिक खानेकुरा नपुग्ने अवस्थाले समस्या बढाएको हो ।

केन्द्रका अनुसार कुपोषित बालबालिकालाई भर्ना गर्नुअघि अस्पतालको बाल रोग विभागमा विशेषज्ञ चिकित्सकद्वारा उनीहरुको तौल र उचाइका आधारमा कुन प्रकारको कुपोषणको समस्या हो भन्ने जाँच गरिन्छ । बच्चालाई तत्काल भर्ना गर्नुपर्ने अवस्था देखिएमा कुपोषित बच्चासँगै आमा अथवा कोही अभिभावकको एक सदस्य अनिवार्य रुपमा बस्नुपर्छ । बच्चाको अवस्था हेरेर एक महिनासम्म पोषणयुक्त खानेकुरा खुवाएर पोषणमा सुधार ल्याइने मात्र होइन सो अवधिका अभिभावकलाई घर पुगेर भान्छामा पकाएका खानेकुरालाई कसरी पोषणतत्व कायम राख्नेगरी तयार पार्ने भन्नेबारे पनि सिकाएर पठाइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>