तनहुँ
महायज्ञमा रु ७० लाख दान सङ्कलन

दमौली (तनहुँ), कात्तिक १३
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचौँ दिन बुधबार रु १७ लाख दान सङ्कलन भएको छ ।
आँबुखैरेनी–३ मा सञ्चालित महायज्ञमा उक्त दिन रु १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु ७० लाख सङ्कलन भएको छ ।
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्नेछ । महायज्ञबाट रु दश करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ, भने करिब रु ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन्, भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
छिम्केश्वरीमा हाल वार्षिक रुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छ ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७६÷७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ । रासस
























