चितवन विशेष
‘राम्रो उपचार र घरको माया पाए स्तन क्यान्सर निको हुन्छ’
‘स्तन क्यान्सर सर्वाइभरलाई प्याडेड ब्रा’

चितवन, कार्तिक १३–
भरतपुर महानगरपालिका–३ की प्रेम कुमारी गुरुङलाई ८ वर्ष अघि स्तन क्यान्सर पत्ता लाग्यो । आफू क्यान्सरको बिरामी भएको थाहा पाएपछि उनलाई सुरुमा निकै कठिन भयो । पछि चिकित्सकको सुझाव, परिवारको हौसला र प्रेरणाले उनी सम्हालिन खोजिन् । नारायणी सामुदायिक अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर सर्जन डा.भक्तमान श्रेष्ठले उनको स्तन क्यान्सरको शल्यक्रिया आफैले गर्ने र निको हुने आश्वासन दिएपछि उनी चिकित्सकको खुट्टै ढोगिन् । वि.सं.२०७४ सालमा शल्यक्रिया गर्दाको क्षण सम्झिदै प्रेम कुमारीले भनिन्–‘त्यो बेला मैले भगवान नै तपाई हो भनेर डाक्टरको खुट्टा ढोगे, आखिर मलाई उहाँले नयाँ जीवन दिनुभयो ।’
मंगलबार विहान नारायणी सामुदायिक अस्पतालमा डा.भक्तमान श्रेष्ठले क्यान्सर निको बनाएका र भर्खरै शल्यक्रिया सम्पन्न भएका क्यान्सर रोगका बिरामीहरु भेला भएका थिए । काठमाडौँको इनर ह्वील क्लब बुद्धनगरले गरेको एक कार्यक्रममा सहभागि भएकी प्रेम कुमारीले भर्खरै उपचार गराइरहेकाहरुलाई हौसला दिँदै आत्मबल बलियो बनाउन आग्रह गरिन् । ‘सबै भन्दा ठूलो आत्मबल बलियो बनाउनु नै हो, मलाई केही हुँदैन, म रोगलाई जित्छु भनेर आफूलाई दह्रो बनाईयो भने क्यान्सरलाई जित्न सकिन्छ’–प्रेमकुमारीले भनिन् ।
डा.भक्तमान श्रेष्ठसंग स्तन क्यान्सरको शल्यक्रिया गराउने दोस्रो बिरामी काठमाडौंकी बबिता शाक्यले पनि सबैलाई आत्मबल बलियो बनाउन हौसला दिइन् । उनले आफु क्यान्सरको शल्यक्रिया गरेकै २५ वर्ष बढी भइसकेको भन्दै आत्मबल बलियो बनाए कुनै औषधि समेत सेबन गर्न नपर्ने बताइन् । ‘मैले क्यान्सरको शल्यक्रिया पछि मधुमेह, उच्च रक्तचाप कुनै को पनि औषधि सेवन गरेको छैन, म आफैमा खुशी छु ।’
कार्यक्रममा १५ वर्ष भन्दा अघि क्यान्सरको शल्यक्रिया गरेका र भर्खरै शल्यक्रिया गरेका २० भन्दा बढी बिरामी सहभागि थिए । उनीहरुलाई डा.भक्तमान श्रेष्ठले उपचार गराएको लामो समय भएका बिरामीहरुको उदाहरण दिँदै सबैलाई आत्मबल बलियो बनाउन सुझाव दिए । ‘उहाँहरु २५ वर्ष भयो उपचार गराएको अहिले निकै तन्दरुस्त हुनुहुन्छ, तपाईहरु पनि यसैगरि आत्मबल बलियो बनाउनुहोस्, खुशी हुनुहोस् केही पनि हुँदैन ।’
डा. भक्तमान श्रेष्ठले २०५३ सालमा आफूले पहिलोपटक स्तन शल्यक्रिया (ब्रेस्ट अपरेशन) गरेको अनुभव सुनाउँदै भने–‘परिवार र समाजको माया र हौसला भए, रोगसँग लड्न सकिन्छ, र लामो आयु बाँच्न पनि सम्भव हुन्छ ।’

२० जनालाई ‘प्याडेड ब्रा’ सहयोग
क्यान्सर सर्वाइभरका लागि काम गर्दै आइरहेको सामाजिक संस्था इनर ह्वील क्लब अफ बुद्धनगर, काठमाडौं र केशवमान सिंह अमात्य फाउण्डेशनले स्तन क्यान्सर निको भएका महिलाहरूका लागि नेपालमै पहिलोपटक ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ नारायणी सामुदायिक अस्पताल भरतपुरमा सम्पन्न गरेको छ ।
‘लाइभ विथ डिगनिटी’ भन्ने नारासहित आयोजित सो कार्यक्रम स्तन क्यान्सर निको भएका महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो । कार्यक्रमा स्तनको शल्यक्रिया गरेकाहरुलाई सहज होस् भनेर कृतिम स्तन ‘प्याडेड ब्रा’ वितरण गरिएको थियो ।
महिलाहरुलाई डिडडुल गर्दा सहज् महसुस होस् भनेर दुई किसिमको नाम अनुसार स्वदेशमै उत्पादन गरिएको ‘प्याडेड ब्रा’ वितरण गरिएको क्लवकी अध्यक्ष नानी माया तामाङले जानकारी दिए । उनले आगामि दिनमा देशैभर यो कार्यक्रम लैजाने तयारी गरिएको बताइन् ।
यो अभियानलाई प्रभावकारी बनाउन डा.भक्तमान श्रेष्ठले क्लवलाई रु.१ लाख सहयोग गर्नुभयो । साथै नारायणी सामुदायिक अस्पतालले पनि रु.१ लाख ५० हजार रुपैयाँ क्लवलाई सहयोग गरेको छ ।
त्यस्तै कार्यक्रममा उपस्थित स्तन क्यान्सर निको भएकी भरतपुरकी प्रेम कुमारी गुरुङले पनि क्लवलाई २१ हजार रुपैयाँ प्रदान गरिन् । तीन वर्ष अघि स्थापना भएको यो क्लव सुरुवात देखि नै क्यान्सर भएका महिलाहरुको लागि काम गर्दै आइरहेको छ ।
संस्थापक अध्यक्ष तारा अमात्यले क्यान्सरपछि अपनाउनुपर्ने जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताइन् ।
क्लवकी सचिव बबिता शाक्यले पनि महिलाहरुलाई हौसला प्रदान गरिन् । शाक्य स्तन क्यान्सरसँगको लामो संघर्षपछि निको हुन सफल भएकी उदाहरणीय सर्वाइभर हुन् ।
























