Breaking News
नारायणी नदी किनारमा छठ पर्वको रौनक

चितवन, कार्तिक १०–
चितवनमा पछिल्लो वर्षहरुमा छठ पर्व धुमधामका साथ मनाउन थालिएको छ । वर्षेनी छठ पर्व मनाउने भक्तालुको संख्या चितवनमा बढ्दै गइरहेको छ । छठ पर्वको मुख्य दिन आज चितवनको नारायणी नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तालुहरुको ठूलै भीड लागेको छ ।
छठ पूजा गर्न बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायत पुगेका थिए । चितवनको नारायणी नदी किनारसंगै माडी, रत्ननगर र खैरहनीका स्थानीय नदीहरुमा पनि भक्तजनको भिड लागेको छ । तराईमूलका बासिन्दाको पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समुदायले समेत मनाउन थालेपछि नारायणी किनारमा वर्षेनी भिड बढ्दै गएको छ । छठ पर्वको मुख्य दिन आज दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गरेका थिए भने साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका थिए ।

छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । साँझमा अघ्र्य चढाउने र अर्को बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो पर्ब समापन हुने गर्दछन् । छठपर्वका लागि नारायणी नदी किनार सिँगारिएको छ । नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको थियो ।
चितवनको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ सालदेखि छठ पूजा हुँदै आएको छ ।






























