Breaking News
तिहारमा सौराहामा ओइरिए पर्यटक, तीन दिनदेखि होटलको अकुपेन्सी ८० प्रतिशत

चितवन, कार्तिक ८–
नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा यतिबेला पर्यटक ओइरिएका छन् । दशैमा सुनसान बनेको सौराहामा अहिले उल्लेखीय मात्रामा पर्यटक ओइरिएका छन् । पछिल्लो दुई दिनदेखि सौराहाका होटलको अकुपेन्सी ८० प्रतिशत पुगेको छ । जबकी दशैको बेला ५ प्रतिशत मात्रै थियो । छठसम्म नै बिदा भएपछि स्वदेशी पर्यटकहरुको आवागमन ह्वात्तै बढेको छ ।
विदेशी पर्यटकको उपस्थिति पनि सौराहामा उल्लेखीय देख्न सकिन्छ । ‘लामो समय भएको थियो सौराहामा हामीले अहिलेको जस्तो पर्यटक देखेका थिएनौं, अहिले सौराहाका होटलमा करिव ८० प्रतिशत अकुपेन्सी छ’–क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष एवं जंगल सफारी लजका संचालक समुन घिमिरे खुशी हुँदै भने । उनले यसपटक तिहारमा करिव ६ देखि ७ हजार पर्यटक बस्ने गरी नै सौराहा आएका छन् । सौराहामा एक दिनमा करिव ९ देखि १० हजार पर्यटक राख्ने क्षमता छ ।
सौराहा आउने पर्यटकहरुले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण, जीप सफारी, हात्ती सफारी, डुंगा सफारी गर्ने गरेका छन् । पछिल्लो तीन दिनमा जीप सफारी गर्ने पर्यटक पनि उत्तिकै बढे । ‘अहिले निकुञ्ज भित्र होस् वा सामुदायिक वन, सबैमा पर्यटकहरु जीप सफारीका लागि भिड लागेको छ, हामीलाई व्यवस्थापनमा कठिनाई भइरहेको छ’– निकुञ्ज सफारी प्रा.लि.का अध्यक्ष एवं पर्यटन व्यवसायी ऋषि तिवारीले भने । उनले थपे–‘मेरो होटलको सबै कोठा बुक भएको छ, कोठा खोज्दै आउने पर्यटकहरु अझै धेरै हुनुहुन्छ ।’

सौरामा साना तथा ठूला गरी डेढ सय भन्दा धेरै होटलहरु छन् । ठूला होटलहरु सबैजसो भरिभराउ छन् । स–साना होटलहरुमा पनि उत्तिकै मात्रामा पर्यटक बास बस्न पुगेका छन् । बनबास रिसोर्टका संचालक बासु ढुंगानाले अहिले विदेशी र स्वदेशी पर्यटकहरु उत्तिकै मात्रामा सौराहा आएको बताउँछन् । ‘हाम्रो होटल पनि सबै भरिभराउ छ, आएका पाहुनाहरुलाई व्यवस्थापन गरेर राखेका छौं’–ढुंगानाले भने ।
दशैंको बेलामा सौराहाका पर्यटन व्यवसायी उत्साहित हुँदै पर्यटकको पर्खाइमा थिए । तर पर्यटक नै नआएपछि उनीहरु निराश बनेका थिए । अहिले एकैपटक तिहारमा पर्यटक ओइरिदा पर्यटन व्यवसायीहरु दंग छन् । होटल मोनालिसाका संचालक केशब खनालले भने–‘दशैंमा पर्यटक देखिएनन्, अहिले एकैपटक ओइरिएका छन्, हामीले अझै सहज वातावरण, होटलमा गुणस्तरीय कायम गर्न सक्यौं भने पर्यटक आउने वातावरण अझै बन्ने छ ।’ उनले सौराहाका पर्यटन व्यवसायीहरु एकजुट भएर सौराहामा पर्यटक टिकाउने वातावरण बनाउन आवश्यक रहेको बताउँछन् ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले पर्यटकको आवागमनले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएको बताए । ‘दशैंमा खासै पर्यटक आएनन्, अहिले पर्यटकको आगमन निकै राम्रो देखियो, हामीलाई हर्षित बनाएको छ ।’
सौराहा आएका पर्यटकहरु धेरैजसो जीप सफारीमा घुमेका थिए । उनीहरुलाई निकुञ्ज भित्र र कुमरोजलगायतका सामुदायिक वनामा जीप सफारी गराउने गरिन्छ । विदेशी पर्यटकहरु ढुंगा सफारी र वाकिङमा बढी आकर्षित देखिएका छन् । लामो समयदेखि रेष्टुरेन्ट तथा होटल व्यवसाय गर्दै आएका रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले सरकारले सधै यस्तै पर्यटक आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । दशैंमा नआएपनि अहिले लामो बिदा मिलेकाले पर्यटकहरु सौराहामा ओइरिएको भन्दै अबै सबै मिलेर पर्यटकको संख्या बढाउनमा ध्यान दिनुपर्नेमा जोड दिए ।



























